logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    मर्चवारका दुई पूर्व गाउँपालिका अध्यक्षसहित हजारौं एमालेमा प्रवेश


    १४ भाद्र २०८२ , शनिबार

    मर्चवारका दुई पूर्व गाउँपालिका अध्यक्षसहित हजारौं एमालेमा प्रवेश

    असलम खान। लुम्बिनीखबर  

    मर्चवार, १४ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रका दुई प्रभावशाली पूर्व गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला र केशवनन्द बानियाँसहित करिब एक दर्जन पूर्व जनप्रतिनिधि र हजारौं सर्वसाधारण शनिबार नेकपा (एमाले) मा प्रवेश गरेका छन्। 

    सम्मरीमाई गाउँपालिका–६, असुरैना निवासी शुक्ला सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् भने मर्चवारी गाउँपालिका–३, रायपुर निवासी बानियाँ मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।

    उनीहरूलाई एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले टीका लगाएर पार्टीमा स्वागत गरेका छन्। यो प्रवेशले मर्चवार क्षेत्रमा एमालेको संगठन थप बलियो हुने नेताहरूले दाबी गरेका छन्।

    जितेन्द्रनाथ शुक्लाले २०७४ सालमा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरमबाट सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेका थिए। त्यसपछि उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) हुँदै २०७९ मा जनमत पार्टीमा प्रवेश गरेका थिए। माओवादीबाट २०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेका उनी पराजित भएका थिए। त्यसै वर्ष जनमत पार्टीबाट प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेर पनि पराजित भएपछि उनले पुनः एमाले रोजेका छन्।

    यता, केशवनन्द बानियाँले २०७४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट मर्चवारी गाउँपालिकाको अध्यक्ष जितेका थिए। २०७९ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पुनः अध्यक्ष पदमा उम्मेदवार बनेका उनी त्यतिबेला पराजित भए। मर्चवार क्षेत्रका प्रभावशाली नेताका रूपमा चिनिने शुक्ला र बानियाँका समर्थकहरू उनीहरू जुन पार्टीमा प्रवेश गर्छन्, त्यहीँ लाग्ने गरेका छन्। यसपटक पनि उनीहरूका समर्थकहरू ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन्।

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले मर्चवार क्षेत्र अब एमालेमय भएको दाबी गरे। उनले मर्चवारले विगतमा पटक–पटक मन्त्री पाए पनि ती नेतृत्व र तिनका पार्टीले क्षेत्रको विकासमा योगदान गर्न नसकेको आरोप लगाए। “मर्चवारले मन्त्री पायो, तर न त यहाँको विकास भयो, न त ती पार्टीहरूले देशको विकासको नेतृत्व गर्न सके। देश र मर्चवारको विकास एमालेबाट मात्र सम्भव छ,” उनले भने। पौडेलले मर्चवारको समृद्धिको जिम्मा अब एमालेले लिने प्रतिबद्धता व्यक्त गरे।

    पार्टी प्रवेशपछि बोल्दै शुक्ला र बानियाँले मर्चवारमा सडक, शिक्षा, स्वास्थ्यलगायतका विकासका कामहरू एमालेको पहलमा भएको दाबी गरे। “पछिल्लो समय मर्चवारमा जति पनि विकासका काम भएका छन्, ती सबै एमालेको पहलमा भएको छ। मर्चवारको समृद्धि एमालेबाटै सम्भव देखेर हामी यहाँ आएका हौँ,” उनीहरूले भने।

    शुक्ला र बानियाँको प्रवेशले मर्चवार क्षेत्रमा केही कमजोर मानिएको एमालेको संगठनमा नयाँ उर्जा थपिने नेताहरूको विश्वास छ। मर्चवार क्षेत्रमा एमालेको प्रभाव विस्तार गर्न यो प्रवेशले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ।

    यो प्रवेशले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ भने एमालेले मर्चवारलाई आफ्नो प्रभाव क्षेत्रका रूपमा स्थापित गर्ने रणनीति अघि सारेको देखिन्छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.