बिशन गुरुङ
भैरहवा, भाद्र १५ । अञ्चलपुर–९ निवासी तथा इन्फिल्डर्स बेस क्याम्पका सञ्चालक आनन्द थापा मगर (भक्कु) ले अञ्चलपुर युवा क्लब (एवाइसी) लाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन्।
शनिबार अञ्चलपुरस्थित इन्फिल्डर्स बेस क्याम्प मा आयोजित जर्सी अनावरण तथा सामग्री हस्तान्तरण कार्यक्रममा थापा मगरले क्लबलाई सहयोगस्वरूप १६ थान जर्सी, १६ थान मोजा, २ थान फुटबल र १ थान गोलकिपर पञ्जा प्रदान गरे।
सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका पदाधिकारीहरूले सहयोगी थापा मगरप्रति आभार व्यक्त गर्दै यस किसिमको योगदानले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र उनीहरूलाई सकारात्मक ऊर्जा दिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा उपस्थित वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाले युवाको क्षमताविकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका हुने भन्दै यस्तो सहयोग सराहनीय रहेको टिप्पणी गरे।
क्लबका अध्यक्ष सूर्यकुमार सारु मगरले सहयोगी हातहरूले युवामा थप उत्साह भर्ने र मैदानमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्लबका सचिव रोशन खनाल, प्रमुख प्रशिक्षक अजय गुरुङ, प्रमुख प्रबन्धक अदि गुरुङ, कोषाध्यक्ष मनोज भण्डारी, सदस्यहरू विकास गुरुङ, वीरेन्द्र गुरुङ, शोबित विक्रम शाह, उचित गुरुङलगायतको उपस्थितिमा सम्पन्न भएको थियो।