logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्राचीन र पवित्र धार्मिक स्थल श्री पौहरीबाबा आश्रम


    १६ भाद्र २०८२ , सोमबार

    लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्राचीन र पवित्र धार्मिक स्थल श्री पौहरीबाबा आश्रम

    झब्बर यादव । लुम्बिनीखबर 

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.–२, केवटलियामा अवस्थित श्री पौहरीबाबा आश्रम एक प्राचीन र पवित्र धार्मिक स्थलको रूपमा परिचित छ । 

    करिब १ बिगहा क्षेत्रफलमा फैलिएको यो आश्रममा शिवालय मन्दिर, सन्तहरूको समाधि, गुनी बाबाको स्थान, पोखरी, यज्ञशाला र हात्तीको आकर्षक मूर्ति (समयमाई थान) रहेका छन् । यहाँको विशाल वरको वृक्षले आश्रमको सौन्दर्यलाई थप मनमोहक बनाएको छ । स्थानियहरूका अनुसार, “यो मन्दिरमा जस्तोसुकै भाकल गरे पनि पूरा हुने जनविश्वास छ, जसले गर्दा यहाँ आउने भक्तजनहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ ।”

    धार्मिक र सांस्कृतिक महत्व

    आश्रममा नियमित पूजा–अर्चना हुन्छ । यहाँ बालब्रह्मचारी पौहारी बाबा, बेलाहेबाबा, बलराज दास जी महाराजले आफ्नो जीवनकाल समर्पण गरेका छन भने अस्थायी रुपमा आधा दर्जन भन्दा बढी साधु–सन्तहरूले आफ्नो जीवनको केही समय विताएका छन्, जसले यो स्थलको आध्यात्मिक महत्वलाई झनै उजागर गरेको छ । आश्रम परिसरमा रहेको पोखरीको आफ्नै विशेषता र पवित्रता छ । स्थानियहरूका अनुसार, “केही वर्षअघि एक व्यक्तिले यो पोखरीको माछा खाएका कारण गाउँमा महामारी फैलिएको थियो । उक्त महामारीलाई रोक्न तान्त्रिक विधिअनुसार गाउँ–टोलका सबै बासिन्दाले सामूहिक रूपमा पूजा–अर्चना गरेपछि मात्र स्थिति सामान्य भएको कथन छ । यो घटनाले आश्रम र यहाँको पोखरीप्रति स्थानियहरूको आस्था र विश्वासलाई थप गहिरो बनाएको छ ।” शिवालय मन्दिरमा भगवान शिवको पूजा–अर्चना गरी भगवान शिवलाई सृष्टिको सर्जक, संरक्षक र संहारकको रूपमा पूजिन्छ । स्थानियहरूको विश्वास छ कि यहाँ भाकल गरेर पूजा–अर्चना गर्दा मनोकामना पूरा हुन्छ । विशेष गरी महाशिवरात्रि, श्रीकृष्ण जन्माष्टिमी, साउन महिना, तीज र अन्य धार्मिक पर्वहरूमा यो मन्दिरमा भक्तजनहरूको ठूलो भीड लाग्छ । स्थानियहरूको विश्वास छ कि शिवालय मन्दिरमा सच्चा मनले भाकल गरेर पूजा गर्दा हरेक इच्छा पूरा हुन्छ । यो मन्दिरमा पूजा गर्नाले रोग, शोक र दुखबाट मुक्ति पाइने जनविश्वास छ । 

    मन्दिरको पवित्र वातावरण र यहाँ हुने नियमित पूजा–अर्चनाले भक्तजनहरूमा आध्यात्मिक विश्वासलाई बलियो बनाएको छ । महाशिवरात्रि भगवान शिव र पार्वतीको विवाहको सम्झना र शिवको ताण्डव नृत्यको प्रतीकको रूपमा मनाइन्छ । पौहरीबाबा आश्रमको शिवालय मन्दिरमा यो पर्वले स्थानियहरूको आध्यात्मिक आस्थालाई थप बलियो बनाउँछ । स्थानियहरू विश्वास गर्छन् कि शिवरात्रिको दिन शिवलिंगमा जल, बेलपत्र, धतुरो, बयर र अन्य सामग्री चढाउँदा मनोकामना पूरा हुन्छ र जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ ।

    स्थानियहरूको अटल विश्वास

    केवटलियावासीहरूको पौहरीबाबा आश्रमप्रति गहिरो श्रद्धा र विश्वास छ । आश्रमको शान्त वातावरण, प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले यहाँ आउने हरेक व्यक्तिलाई आध्यात्मिक शान्ति प्राप्त हुने स्थानियहरू बताउँछन् । विशेष गरी शिवरात्रि, श्रीकृष्ण जन्माष्टिमी, तीज, साउन महिना र अन्य धार्मिक पर्वहरूमा यहाँ भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ ।

    संरक्षण र सम्भावना

    पौहरीबाबा आश्रम केवल धार्मिक स्थल मात्र नभई सांस्कृतिक र ऐतिहासिक धरोहर पनि हो । स्थानियहरूले यसको संरक्षण र प्रचार–प्रसारमा विशेष जोड दिनुपर्ने बताउँछन् । यो आश्रमलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गर्न सकिएमा यसले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत ठूलो योगदान पुर्याउन सक्ने सम्भावना छ ।

    पौहरीबाबा आश्रम केवटलियावासीहरूको आस्थाको केन्द्र मात्र नभई समग्र लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण धार्मिक गन्तव्य हो । यहाँको शान्त वातावरण, पवित्र पोखरी, सन्तहरूको समाधि र वरको वृक्षले यो स्थललाई विशेष बनाएको छ । यो पवित्र स्थलको संरक्षण र प्रचार–प्रसारले आगामी पुस्तालाई समेत आध्यात्मिक र सांस्कृतिक धरोहरको महत्व बुझाउन मद्दत गर्नेछ ।

     

     

    यो पोखरी केवल प्राकृतिक जलाशय मात्र नभई स्थानियहरूको आस्था र विश्वासको केन्द्रबिन्दु पनि हो । स्थानिय जनविश्वासअनुसार, “यो पोखरीमा रहेका माछा र जललाई पवित्र मानिन्छ र यहाँको पानी र जीवजन्तुको सम्मान गर्नु धार्मिक दृष्टिकोणले अत्यन्त आवश्यक छ ।”

    पौहरीबाबा आश्रमको पोखरीलाई साधु–सन्तहरूको तपस्यासँग जोडेर हेर्ने गरिन्छ । यो पोखरीमा स्नान गर्नाले मनको शान्ति प्राप्त हुने र पाप नाश हुने विश्वास छ । स्थानियहरूका अनुसार, “यहाँको जलमा विशेष आध्यात्मिक शक्ति छ, जसले भक्तजनहरूको मनोकामना पूरा गर्न सहयोग गर्छ । यो पोखरीमा रहेका माछालाई भगवानको प्रतीकको रूपमा सम्मान गरिन्छ, र तिनलाई हानि पुर्याउनु अपवित्र कार्य मानिन्छ ।”

    महामारीसँग जोडिएको कथा

    स्थानिय कथनअनुसार,– “केही वर्षअघि एक व्यक्तिले यो पोखरीको माछा खाएका कारण गाउँमा महामारी फैलिएको थियो । यो घटनालाई पोखरीको पवित्रतामाथि आँच आएको परिणामको रूपमा लिइयो । पछि, तान्त्रिक विधिअनुसार गाउँ–टोलका बासिन्दाहरूले सामूहिक पूजा–अर्चना र विशेष अनुष्ठान गरेपछि मात्र महामारी नियन्त्रणमा आएको थियो । यो घटनाले पोखरीको धार्मिक महत्वलाई थप पुष्टि गरेको छ र स्थानियहरूमा यहाँको पवित्रताप्रति गहिरो विश्वास जागृत गरेको छ ।”

    पौहरीबाबा आश्रमले केवटलियावासीहरूको आस्था र विश्वासलाई जीवित राखेको छ । स्थानियहरूको विश्वास र कथाहरूले यो ठाउँलाई केवटलियाबासीको मुटुको रूपमा स्थापित गरेको छ ।

    वडा नं.–२ का वडाअध्यक्ष इनामुल्लाह फकीरले भने, “पौहरीबाबा आश्रम हाम्रो वडाको एक महत् वपूर्ण धार्मिक स्थल हो, जुन यहाँको सांस्कृतिक पहिचानसँग जोडिएको छ । यसको संरक्षण र समुचित व्यवस्थापनका लागि हामी प्रतिबद्ध छौँ । आश्रमको जग्गा, संरचना र यहाँ हुने गतिविधिहरूलाई व्यवस्थित गर्न स्थानीय समुदाय, धार्मिक समितिहरू र नगरपालिकासँग सहकार्य भइरहेको छ ।” 

    पौहरीबाबा आश्रमका लागि आफू जिम्मेवार व्यक्ति भएकोले आश्रममा आउने भक्तजनहरूको सुविधाका लागि आधारभूत पूर्वाधारहरू जस्तै, शुद्ध खानेपानी, सरसफाइ, भजन किर्तनका लागि सामग्री र सुरक्षित बसाईको व्यवस्थामा समेत समन्वय गरिरहेका छौँ वडा अध्यक्ष फकिरको भनाई छ ।

    वडा अध्यक्ष फकिरका अनुसार,– “आश्रमलाई पर्यटकीय र धार्मिक गन्तव्यको रूपमा थप व्यवस्थित बनाउन स्थानीय समुदायको सहभागिता र सुझावलाई प्राथमिकता राखि यहाँको पूर्वाधारको निर्माणमा निरन्तरता दिनेछौं । यो आश्रम गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेकोले यसको महत्व अझ बढी छ । यो ठाउँ शान्ति र अध्यात्मको केन्द्र बन्नका लागि प्रयासरत रहेकाछौं ।”

    एक स्थानीय भक्तजनले भने, “पौहरीबाबा आश्रम हाम्रो आस्थाको केन्द्र हो । वडा अध्यक्षको सक्रियताले हामीलाई यो ठाउँ अझ राम्रो हुने विश्वास बढेको छ ।”

    हाल आश्रममा पुजारी धु्रप दास महन्तले विगत दुई वर्षदेखि यहाँको पवित्र आश्रममा पुजारी रहीे सम्पूर्ण जीवन आश्रमको संरक्षण र पूजापाठमा समर्पित गरेका छन् । अटल भक्ति र निःस्वार्थ सेवाले आश्रमलाई धार्मिक र आध्यात्मिक केन्द्रको रूपमा थप सुदृढ बनाउने बताए । ध्रुप दास महन्तले यो समर्पणले आश्रमलाई केवल धार्मिक स्थल मात्र नभई सामाजिक एकताको प्रतीक रहेको बताए । आगामी पुस्तामा पनि धार्मिक र सांस्कृतिक मूल्य–मान्यताको संरक्षण गर्न प्रेरित गर्ने बताए । 

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.