logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    अपराधिक घटनाले लुम्बिनीवासीमा त्रास


    १८ भाद्र २०८२ , बुधबार

    अपराधिक घटनाले लुम्बिनीवासीमा त्रास

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, १८ भदौं । लुम्बिनी सांस्कृतिक नगरपालिकामा पछिल्लो समय अपराधका घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन् । हालैका दुई हप्ताभित्र भएका दुईवटा सामूहिक आक्रमणको घटनाले स्थानीय समुदायमा त्रास र असुरक्षाको वातावरण सिर्जना भएको छ । यी घटनाहरूले स्थानीय प्रशासन र प्रहरीको प्रभावकारितामाथि पनि प्रश्न उठाएका छन् ।
    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २, अर्दौलाका स्थानीय अक्षय कुमार यादवमाथि लङ्कापुर र पडरियाको सिमाना हुँदै खुनगाई र केवटलिया जाने बाटोमा सामूहिक आक्रमण भएको छ । यो घटना स्थानीय बासिन्दाहरूका लागि ठूलो झट्काको रूपमा आएको छ । आक्रमणको कारण र आक्रमणकारीहरूको पहिचानबारे प्रहरीले हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
    स्थानीय बासिन्दाहरूले यस्ता घटनाहरूले लुम्बिनी क्षेत्रको शान्त र पर्यटकीय महत्वमाथि असर पर्ने चिन्ता व्यक्त गरेका छन् । एक स्थानीयले भने, “लुम्बिनी जस्तो पवित्र ठाउँमा यस्ता घटनाहरूले हाम्रो समुदायको छवि बिगार्छ । प्रहरी र प्रशासनले तुरुन्त कारबाही गर्नुपर्छ ।“
    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का ओम प्रकाश लोधमाथि भएको सामूहिक आक्रमणले यो क्षेत्रमा अपराधको स्थिति थप चिन्ताजनक बनेको छ । यो घटना १५ दिनभित्रै दोस्रो सामूहिक आक्रमणको घटना हो । स्थानीय बासिन्दाहरूले प्रहरीको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
    वडा नं.–२ का वडा अध्यक्ष इनामुल्लाह फकिरका अनुसार,“ हालै वडा भित्रका एक पछि अर्को घटनाले स्थानीयवासीमा शान्ति र सद्भावमा आघात पु¥याएको छ । सामूहिक आक्रमणका घटनाहरू अत्यन्तै दुखद र गम्भीर छन् । हामीले प्रहरी प्रशासनसँग समन्वय गरेर यी घटनाहरूको गहिरो छानबिन सुरु गरिसकेका छौं । हामी पूर्ण सत्यतथ्य पत्ता लगाउन प्रतिबद्ध छौं ।”
    “हाम्रो पहिलो प्राथमिकता पीडितहरूलाई न्याय र सुरक्षा प्रदान गर्नु हो । हामीले स्थानीय समुदायसँग मिलेर शान्ति कायम गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न विभिन्न कदमहरू चालिरहेका छौं । हामी प्रहरीसँग मिलेर दोषीहरूलाई कानुनी दायरामा ल्याउन र कडा कारबाही गर्न जोड दिइरहेका छौं ।” वडा अध्यक्ष फकिरले भने ।
    यस्ता घटनाहरूलाई लिएर अनावश्यक अफवाह नफैलाउन र शान्तिपूर्ण तरिकाले सहयोग गर्नुका साथै यदि कसैसँग यी घटनासँग सम्बन्धित कुनै जानकारी छ भने, कृपया वडा कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन वडा अध्यक्ष फकिरले अनुरोध गरे ।
    सो घटनाहरूबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएअनुसार ती घटनाहरू सामान्य प्रकृतिका रहेका छन् । प्रहरीका अनुसार यी घटनाहरूले स्थानीय शान्ति र सुरक्षामा कुनै ठूलो असर पारेको छैन । स्थानीय प्रशासन र प्रहरीले स्थिति नियन्त्रणमा राखी आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाइएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.