बिशन गुरुङ
भैरहवा, भाद्र २२ । तिलोत्तमा–१५, कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा जारी २३औं लिस्नु कप फुटबल प्रतियोगितामा एवाईसी अञ्चलपुर भैरहवाले प्रभावशाली प्रदर्शन गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।
भदौ १४ गतेदेखि सुरु भएको प्रतियोगिता यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिका वडा नं. १५ को सहप्रायोजनमा सञ्चालन भइरहेको छ। शनिबार सम्पन्न रोमाञ्चक खेलमा अञ्चलपुरले सम्पूर्ण युवा क्लब सुपौलीलाई ७–४ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको पहिलो मिनेटमै सुपौलीका गणेश हमालले गोल गर्दै सुरुआत धमाकेदार बनाए पनि अञ्चलपुरले लगातार आक्रामक खेल प्रदर्शन गर्यो। सुपौलीतर्फ पूर्णबहादुर गुरुङले २५औं र ४०औं मिनेटमा दुई गोल थपे भने ८०औं मिनेटमा साजनराज गौतमले अर्को गोल गर्दै टोलीलाई ४ गोलसम्म पु¥याए।
तर अञ्चलपुरका खेलाडीहरू मैदानभर हावी बने। जर्सी नं.११ का चन्दन दासले ११औं मिनेटमा गोल गरे भने २३औं मिनेटमा आत्मघाती गोलमार्फत टोलीले बराबरी गर्न सफल भयो। त्यसपछि जर्सी नं.९ का आशिष गुरुङले २६औं र ४०औं मिनेटमा दुई गोल गरे। उज्ज्वल राईले ६७औं र ८०औं मिनेटमा दुई गोल थपे भने जर्सी नं.१५ का बिजय सिंह ठकुरीले ७०औं मिनेटमा गोल गर्दै अञ्चलपुरलाई ७–४ को विजयी नतिजा दिलाए। उत्कृष्ट प्रदर्शन गर्ने आशिष गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए।
यसैबीच, प्रतियोगिताअन्तर्गत भदौ २२ गते अभिषेक चर्च रजहर, नवलपुर र कपिलवस्तु–११, कपिलवस्तु बीच खेल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीलाई नगद रू. ४ लाख ४ हजार ४ सय ४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेताले नगद रू. २ लाख २ हजार २ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा राइजिङ खेलाडीलाई जनही रू. १२ हजार ५ सयसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक दिन सर्वोत्कृष्ट खेलाडीले रू. ५ हजार प्राप्त गर्नेछन् भने अनुशासित एक टिमलाई आकर्षक ट्रफी दिइनेछ।
अनुमानित बजेट झण्डै रू. २९ लाख २१ हजार रहेको यस प्रतियोगिताको आयोजक क्लबले जनाएकाे छ।