बिशन गुरुङ
भैरहवा, भाद्र ३१ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुलाई लक्षित गरी छुट्टै आगमन कक्ष संचालनमा आएको छ। यसअघि आगमन र प्रस्थान सेवा एउटै ठाउँबाट हुँदै आएकोमा यात्रुको बढ्दो चापलाई ध्यान दिँदै सोमबारदेखि छुट्टाछुट्टै भवनबाट सेवा दिन सुरु गरिएको हो।
नयाँ आगमन कक्षको औपचारिक उद्घाटन बुद्ध एयरका यात्रु गुल्मी, जुवाङ्गका जेष्ठ नागरिक गणपती भण्डारीको आगमनसँगै गरिएको हो। उद्घाटनका पहिलो यात्रु बनेका भण्डारीले “नयाँ भवनको पहिलो आगन्तुक बन्न पाउँदा निकै खुशी लागेको छ। यात्रुहरुप्रति यसरी माया गरिएको देख्दा गौरवको अनुभूति भएको छ। आगामी दिनमा थप नयाँ–नयाँ सुविधा विस्तार हुँदै जाने शुभकामना व्यक्त गर्दछु,” भने।
विगत पाँच दशकदेखि विमानस्थलमा आन्तरिक आगमन, प्रस्थान र कार्गो सेवा एउटै साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको थियो। यात्रुले भोग्दै आएका कठिनाइलाई समाधान गर्न सुरक्षाकर्मीहरूलाई अन्यत्र व्यवस्थापन गरी कार्गो प्रयोजनका कोठालाई फराकिलो बनाएर अहिलेको अस्थायी आगमन कक्ष तयार गरिएको हो। विमानस्थलले आगामी तीन–चार महिनाभित्र पूर्ण सुविधा सम्पन्न नयाँ आगमन भवन यात्रुको सेवामा ल्याउने तयारी गरेको छ।
महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार हालको प्रस्थान कक्ष पनि अत्यन्तै साँघुरो र जीर्ण अवस्थामा पुगेको छ। अहिले अधिकतम १५० सिट र दुईवटा जहाजका यात्रु मात्रै अटाउने क्षमतामा रहेको प्रस्थान कक्षलाई तत्काल मर्मत गरी आगामी आठदेखि दस वर्षसम्म प्रयोग गर्न सक्ने बनाइनेछ। साथै डेढ वर्षभित्र यात्रु क्षमता दोब्बर हुने गरी आधुनिक सुविधा सम्पन्न नयाँ प्रस्थान कक्ष पनि निर्माण हुने उनले जानकारी दिए।
गत वर्ष भैरहवाबाट पोखरा, काठमाडौंसहित विभिन्न गन्तव्यका आन्तरिक उडानमार्फत करिब ८ लाख यात्रुले यात्रा गरेका थिए। अहिले दैनिक १८ देखि २० उडान सञ्चालन भइरहेका छन्।
नयाँ आगमन कक्ष सुरु भएपछि यात्रुले कार्गो लिन जाँदा पहिलेजस्तो दुई पटक सुरक्षा जाँच गर्ने झन्झट हटेको छ। अब सम्बन्धित एयरलाइन्सको छुट्टै कोठाबाटै कार्गो वितरण हुने सुविधा उपलब्ध भएको छ। साथै, अबको पाँच महिनाभित्र BHS (Bags Handle System) पनि सुचारु हुने र यात्रुलाई लिन आउने आफन्तका लागि छुट्टै आगन्तुक कक्षको व्यवस्था मिलाइएको विमानस्थलका सूचना अधिकारी विनोद राउतले जानकारी दिए।