लुम्बिनीखबर
भैरहवा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसीं बाट मूल्यवृद्धि भएको नयाँ मूल्यसूची प्राप्त भए पनि चाडबाडको समयलाई ध्यानमा राखी मूल्य स्थिर राखिएको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आईओसीले पठाएको पछिल्लो मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४६ पैसाले बढेर आएको थियो। तर, चाडबाड नजिकिएको अवस्थामा उपभोक्तालाई राहत प्रदान गर्न र मूल्य स्थिरता कायम राख्न निगमले मूल्यवृद्धि नगर्ने निर्णय गरेको हो।
आईओसीले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्छ। सोही मूल्यसूचीका आधारमा नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीमार्फत मूल्य निर्धारण गर्दै आएको छ। तर, यसपटक चाडबाडको समयमा उपभोक्ताको सुविधा र आपूर्ति सहज बनाउन मूल्य यथावत राखिएको ठाकुरले बताए।
निगमको यो निर्णयले उपभोक्ताहरूलाई चाडबाडको समयमा आर्थिक भार कम हुने अपेक्षा गरिएको छ। साथै, पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले आवश्यक व्यवस्था गरेको जनाइएको छ।
