ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी । नवलपरासी जिल्लामा गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर र सुस्ता गाउँपालिका क्षेत्रबाट ९ जना र बर्दघाट क्षेत्रबाट ७ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, प्रदर्शनका क्रममा सरकारी तथा निजी कार्यालय, राजनीतिक दलका कार्यालय, संघ–संस्थाका संरचना र सम्पत्तिमाथि तोडफोड र आगजनी भएको थियो । विशेषगरी जनप्रतिनिधि, राजनीतिक दलका नेता र पूर्वजनप्रतिनिधिका घर तथा सम्पत्तिमा व्यापक क्षति पु¥याइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठका अनुसार, पक्राउ परेका व्यक्तिहरु निजी सम्पत्तिमा आगजनी र तोडफोडमा प्रत्यक्ष संलग्न रहेको प्रमाणका आधारमा पक्राउ गरिएका हुन्। “पक्राउ परेका अधिकांश जेनजी उमेर समूह (१३ देखि २८ वर्ष) भन्दा माथिका छन् । भिडियो फुटेजलगायतका प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,“ एसपी श्रेष्ठले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिले आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरुको पहिचानका लागि भिडियो फुटेज र अन्य प्रमाण उपलब्ध गराउन आग्रह गरेको थियो । सोही आग्रहअनुसार प्राप्त प्रमाणका आधारमा पक्राउ गरिएको र उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
एसपी श्रेष्ठले अपराधको प्रकृतिअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताउनुभयो । साथै, जिल्लास्थित राजनीतिक दलहरुले कारबाही प्रक्रियामा कुनै दबाब नदिने सामूहिक प्रतिबद्धता जनाएको र सोहीअनुसार सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ ।
यो घटनाले जिल्लाको सुरक्षा स्थिति र सामाजिक सद्भावमा गम्भीर प्रश्न उठाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको र अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र रुपमा भइरहेको छ ।