लुम्बिनीखबर
भैरहवा, ८ असोज । रुपन्देही प्रहरीले अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ भिलरहवा बस्ने २३ वर्षीय अक्षय कुमार हरिजन र सोही वडाको पकडी बस्ने २२ वर्षीय गुलाब हरिजन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार असोज ५ गते आइतबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा अवैध लागूऔषधको कारोबार भइरहेको सूचना प्राप्त भएको थियो । उक्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकल चालक अक्षय र पछाडी सवार गुलाबलाई लु १० प ५८४१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा प्रहरीले उनीहरूको साथबाट डाइजेपाम ५० एम्पुल, फेनरागन ५० एम्पुल र बुप्रेनोरफिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल अवैध लागूऔषध बरामद गरेको डीएसपी कार्कीले बताउनुभयो । प्रहरीले मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।