लुम्बिनीखबर
भैरहवा, ८ असोज । रुपन्देहीको धकधईमा रहेको एक बैंकको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–६, पर्सा बस्ने २५ वर्षीय सुरज चौधरी र वडा नम्बर २, श्रीनगर बस्ने २२ वर्षीय बिन्दु बानिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार असोज ६ गते सोमबार रोहिणी गाउँपालिका–३, धकधईस्थित शाईन रेसुंगा डेभलपमेण्ट बैंकको शाखामा रहेको एटीएम मेसिन तोडफोड भएको सूचना प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, धकधईबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजतलास र अनुसन्धानका क्रममा उक्त दुईजनालाई नियन्त्रणमा लिएको डीएसपी कार्कीले बताउनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।