बिशन गुरुङ
भैरहवा, असोज १२ । रुपन्देहीको तिलोत्तमा–१५, कोटिहवामा केन्द्रीय कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले २० वर्षको यात्रा पूरा गर्दै आफ्नो २०औं वार्षिक साधारण सभा अन्तर्गत अन्तिम निर्णय प्रमाणित सभा सम्पन्न गरेको छ। असोज ४ गते विभिन्न १० वटा सेवा केन्द्रमा सम्पन्न भएको साधारण सभापछि असोज ११ गते तिलोत्तमा–९ मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा भएको सभामा ३१३ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको तर्फबाट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगसमेत हस्तान्तरण गरिएको थियो। ८ वटा सार्वजनिक प्रतिक्षालय, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखालाई एक वटा फ्रिज, पाँच विद्यालयलाई ५०/५० हजार विद्यालय विकास अक्षयकोष, पाँच युवा क्लबलाई २५/२५ हजार युवा विकास अक्षयकोष, पाँच आमा समूहलाई १५/१५ हजार आमा समूह विकास अक्षयकोष र नेपाल अभिनास अनाथ आश्रम तिलोत्तमा–१५ कोटिहवालाई १५ हजार अनाथ आश्रम प्रवर्ध्दन अक्षयकोष प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिएको हो।
यसैगरी, दैनिक लुम्बिनी सञ्चारकर्मी मोहम्मद हबिबलाई “जनउत्थान सहकारी पत्रकारिता पुरस्कार २०८२” बाट सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारी सम्मान अन्तर्गत फिल्ड सहायकतर्फ मीना थापा, कार्यालय सहायकतर्फ गुन्जा चौधरी र सेवा केन्द्र प्रमुखतर्फ विजय थापालाई सम्मान गरियो। पुरस्कार ग्रहण गर्दा उनीहरूको खुसीले हलमा तालीको गडगडाहट गुन्जिएको थियो।

संस्थाका अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिले सहकारीले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै यस विषम परिस्थितिमा पनि सुरक्षित सहकारीकारूपमा स्थापित भएकोमा बधाई दिएका थिए। उनले १० प्रतिशत लाभांश वितरण गर्न सफल हुनु संस्थाको उपलब्धि भएको भन्दै राज्य पुनर्निर्माणमा सहकारी क्षेत्रले अझ योगदान दिनुपर्नेमा जोड दिए।
सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गरिएका थिए। लेखा संयोजक खुमाकान्त अधिकारी, लेखा अधिकृत हरिबहादुर उचई, सूचना तथा संचार अधिकृत प्रकाश बुढाथोकी, सदस्य सेवा सल्लाहकार खिमकुमारी राना, सहायक व्यवस्थापक सुरज जैसी, ऋण सल्लाहकार श्यामलाल खरेल, ऋण अधिकृत रामनिवास धोबी, एजकेयर सेन्टर सल्लाहकार इश्वरचन्द्र पोख्रेल र प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले आ–आफ्ना प्रतिवेदन राखे। प्रस्तुतिहरू सुन्दा सहभागीहरूले संस्थाको पारदर्शिता र दीर्घकालीन योजनाप्रति विश्वास व्यक्त गरेका थिए।
साधारण सभाले २०८१/८२ मा भएको ११.९७ करोड शुद्ध मुनाफासहितको आय–व्यय पारित गर्दै आगामी वर्ष २०८२/८३ मा करिब ११ करोड शुद्ध मुनाफा र ४९३ करोड कुल वासलात पुर्याउने लक्ष्यसहितको अनुमानित आय–व्यय योजना सर्वसम्मत पारित गरेको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष मेखराज पुन, कानुनी सल्लाहकार शिव प्रसाद गौडेल, लुम्बिनी विश्व विद्यालयका प्राध्यापक शंकर प्रसाद गौतम, रुद्रपुर सेवा केन्द्रका थम सिन्जालीलगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उपाध्यक्ष सरु रानाले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव अन्जु जैशी, सञ्चालक सदस्य पुरनबहादुर शाही, जोगबहादुर सुर्यवंशी, लिला कुमारी थापा र सफिउर्रहमान अन्सारीले गरेका थिए।
जनउत्थान साकोसले हाल १० सेवा केन्द्र, ८ संकलन केन्द्रमार्फत ३९ हजारभन्दा बढी सदस्यलाई सेवा पुर्याइरहेको छ। संस्थाले असार मसान्तसम्म ४ अर्ब ३० करोड ८४ लाख सम्पत्ति, २८ करोड ४३ लाख शेयर पूँजी, ३ अर्ब ४४ करोड ९९ लाख बचत संकलन र ३ अर्ब २९ करोड १३ लाख ऋण लगानी गर्न सफल भएको छ। संस्थाले अन्तर्राष्ट्रिय स्तरको सिल्भर एक्सेस ब्राण्ड २०८२ समेत प्राप्त गरी आफ्नो गुणस्तरीय सेवाको प्रमाण प्रस्तुत गरेको छ।
दुई दशकअघि पाँच युवाको प्रयासबाट टिकुलीगढमा सुरु भएको जनउत्थान साकोस आज ‘‘वित्तीय समाधानको लागि सबैको पहिलो रोजाइ’’ बनेको छ। सहभागीहरूले संस्थालाई आफ्नो आर्थिक आधार मात्र नभई सामुदायिक गर्वकारूपमा चित्रण गर्दै भविष्यमा अझ सबल र समावेशी सहकारी बनाउन प्रतिबद्धता जनाए।