लुम्बिनीखबर
भैरहवा, ३१ असोज । भैरहवाबाट मर्चवारतर्फ जाँदै गरेको ड्राइफ्रुट्सको बीउ (सिड) बोकेको एक गाडीलाई सशस्त्र प्रहरीले चेकजाँच गर्न खोज्दा एक समूहले विवाद सिर्जना गरेको छ।
सुरक्षा निकायले गाडीलाई संकास्पद ठानेर रोकेपछि बहस भएको छ, जसमा उक्त समूहले प्रहरीलाई अवरोध गर्दै गालीगलौज गरेको देखिन्छ।

घटनाका अनुसार, सशस्त्र प्रहरीले गाडी रोकेर चेकजाँच गर्न खोज्दा राजेश जयसवाल, प्रविन जयसवाल, राजु यादव र संजय मिश्रा लगायतका व्यक्तिहरूले तीव्र विरोध जनाएका थिए।
स्थानीय बासिन्दाहरूका अनुसार, यो समूहका केही सदस्यहरू विगतका तस्करी घटनाहरूमा संलग्न रहेका छन्। बहसका क्रममा उनीहरूले प्रहरीलाई चेकजाँचबाट रोक्न खोजेका थिए भने भिडियोमा उनीहरूले अश्लील शब्दहरू प्रयोग गरेको स्पष्ट सुनिन्छ।
भिडियोमा कैद भएका केही अभिव्यक्तिहरूमा “मुख किन छोप्नुहुन्छ, लुकेर बस्ने, दश गजामा ड्युटी गर्न गाडी फाट्दैछ, प्रहरीले दादागिरी गरिरहेको छ, दम छैन बिल चेक गर्ने, सीमामा पक्रेर देखाउ, बिल र अनलाइन हुँदा पनि किन रोकेको” जस्ता वाक्यांशहरू समावेश छन्। यी अभिव्यक्तिले घटनालाई थप तनावपूर्ण बनाएको हो।

समूहका एक सदस्य राजु यादवले प्रहरीमाथि आक्रामक रूपमा प्रस्तुत हुँदै भनेका थिए, “यो नेपालको माल हो, नेपालमा खेती गर्न नपाउने?” उनले गाडीमा लोड गरिएको सामान खरबुजाको बीउ भएको दाबी गर्दै यसलाई पसलमा बिक्री गर्न लैजाँदै गरेको बताएका थिए। यद्यपि, यो ड्राइफ्रुट्सको रूपमा प्रयोग हुने खरबुजाको बीउ हो, जसको मर्चवार क्षेत्रमा खपत लगभग शून्य रहेको स्थानीयहरू बताउँछन्। यस प्रकारको बीउ चीनबाट नेपाल आयात हुने गरेको छ, जसले गर्दा तस्करीको आशंका बढेको छ।
सशस्त्र प्रहरीका अनुसार, सीमा क्षेत्रमा संकास्पद गतिविधि बढ्दै गएकाले नियमित चेकजाँचलाई कडाइ गरिएको छ। घटनापछि प्रहरीले उक्त गाडी र समूहका सदस्यहरूमाथि थप अनुसन्धान सुरु गरेको बताइएको छ। स्थानीयहरूले भने यो घटनाले सीमा क्षेत्रमा तस्करी नियन्त्रणको चुनौतीलाई उजागर गरेको बताएका छन्।
यो घटनाले सुरक्षा निकाय र स्थानीयबीचको सम्बन्धमा प्रश्न उठाएको छ। प्रहरीले कानुनअनुसार कारबाही गर्ने जनाएको छ भने समूहका सदस्यहरूले आफूहरू निर्दोष रहेको दाबी गरेका छन्। थप विवरणका लागि अनुसन्धान जारी छ।