logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवामा मङ्सिर ३ देखि सातौं लुम्बिनी महोत्सव


    १२ कार्तिक २०८२ , बुधबार

    भैरहवामा मङ्सिर ३ देखि सातौं लुम्बिनी महोत्सव

    भियतनामी जलपरीको मनमोहक प्रदर्शन मुख्य आकर्षण

    पशुपति यादव । लुम्बिनीखबर 

    रोहिणी, १२ कार्तिक । उद्योग व्यापार सङ्गठन रूपन्देहीको आयोजनामा भैरहवामा सातौं लुम्बिनी महोत्सव मङ्सिर ३ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवले स्थानीय उत्पादनको प्रवर्धन, पर्यटन विकास र मनोरञ्जनलाई प्राथमिकता दिएको छ।

    सङ्गठनका अध्यक्ष सचिन रोक्काले पत्रकार सम्मेलनमा जानकारी दिँदै विगतका महोत्सवको तुलनामा यस वर्ष दर्शकलाई आकर्षित गर्न समयानुकूल नवीन कार्यक्रम समावेश गरिएको बताए। “स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको गीत–सङ्गीतले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ,” उनले भने।

    महोत्सवको सबैभन्दा ठूलो आकर्षण भियतनामबाट आमन्त्रित महिलाहरूको जलपरी प्रदर्शन रहनेछ। जलपरीको पोशाकमा पानीभित्र रहेर दर्शकलाई मनोरञ्जन दिने यो प्रदर्शनले महोत्सवलाई अन्तर्राष्ट्रिय स्वाद दिनेछ। त्यसैगरी कृषि प्रदर्शनी र फिस टनेल पनि दर्शकको रोजाइ बन्ने आयोजकको विश्वास छ। “सबैको सहयोग र उपस्थितिले महोत्सव सफल बनाउन अपरिहार्य छ,” अध्यक्ष रोक्काले आग्रह गरे।

    महोत्सवका उद्देश्यहरूमा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, उद्योग–व्यापारको प्रोत्साहन, लुम्बिनी क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि क्षेत्रको आधुनिकरण, हस्तकलाको बजार विस्तार, रोजगारी सिर्जना, लुम्बिनी–देवदह–तिलौराकोट–रामग्रामजस्ता पर्यटकीय स्थलको प्रचार–प्रसार र कम लागतमा उत्पादन वृद्धिका लागि नयाँ प्रविधिको जानकारी प्रवाह रहेका छन्।

    महोत्सवमा स्थानीय तथा राष्ट्रिय नेपाली, थारु र भोजपुरी भाषी कलाकारहरूको प्रस्तुति रहनेछ। सङ्गठनकी महासचिव लक्ष्मी अधिकारीले भनिन्, “कलाकारहरूको बेजोड प्रस्तुतिले मेलाको रौनक अर्कै हुनेछ।”

    सङ्गठनका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले स्थानीय तहमा ‘एक पालिका, एक उत्पादन’ नीति प्रभावकारी नभएको गुनासो गरे। उनले पालिकाको पहिचान झल्कने उत्पादनको प्रवर्धनमा पहल नभएको बताए।

    महोत्सवमा २५० स्टल रहनेछन् र सिद्धार्थ नगरपालिका वडा नं. ८, अञ्चलपुरमा आयोजना हुनेछ। अनुमानित खर्च १ करोड ३२ लाख रहेको आयोजकले जनाएको छ।

    महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र स्वदेशी उत्पादनको सम्मान बढाउने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.