अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, कार्तिक। गौतम बुद्धको जन्मभूमि लुम्बिनीको ऐतिहासिक पत्रित स्थलबाट प्रेरित लुम्बिनी राइडर्स टिमले नेपालको पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर प्रिमियर लिग (एनएसपीएल) मा सहभागिता जनाउँदै छ। यो टिम लुम्बिनी प्रदेशको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। कार्तिक १५ गतेदेखि काठमाडौंमा सुरु हुने यो रोमाञ्चक लिगमा लुम्बिनी राइडर्सले आफ्नो यात्रा सुरु गर्न लागेको छ।
आज (कार्तिक १४ गते) काठमाडौंमा आयोजित भव्य जर्सी रिभील कार्यक्रममा लुम्बिनी राइडर्सको आधिकारिक जर्सी सार्वजनिक गरियो। यो जर्सीमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पत्रित स्थलको प्रतीकात्मक डिजाइन समावेश छ, जसले शान्ति, ज्ञान र एकताको सन्देश बोकेको छ। कार्यक्रममा टिमका सम्पूर्ण खेलाडीहरू, अफिसियलहरू र क्रिकेटप्रेमीहरूको उपस्थिति थियो।
कार्यक्रमको मुख्य आकर्षण बनेको थियो – टिमका लागि अहमद हुसैनलाई कप्तान घोषणा। अहमद हुसैन, जो नेपाली क्रिकेटका अनुभवी खेलाडी हुन्, लुम्बिनी राइडर्सको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्। उनले कप्तानीको जिम्मेवारी स्वीकार गर्दै टिमका खेलाडीहरूसँग एकताबद्ध भएर जित्ने संकल्प व्यक्त गरे। “यो टिम लुम्बिनीको गौरव बोकेर मैदानमा उत्रिनेछ। हामीले हार्ने होइन, जित्ने सोच बोकेका छौं,” कप्तान हुसैनले भने।
कार्यक्रममा पूर्व मन्त्री तथा सांसद लुम्बिनी प्रदेशका चन्द्रकेश (सीके) गुप्ताको विशेष उपस्थिति रह्यो। उनले जर्सी रिभीलमा सहभागी भएर सम्पूर्ण क्रिकेट खेलाडीहरूलाई बधाई तथा आगामी प्रतियोगितामा जितको अग्रिम शुभकामना दिए। “लुम्बिनी प्रदेशको यो टिमले न केवल खेल मैदानमा सानदार प्रदर्शन गर्नेछ, तर पनि हाम्रो प्रदेशको सांस्कृतिक धरोहरलाई विश्वव्यापी बनाउनेछ। खेलाडीहरूको मेहनत र लगनशीलताले नेपाल क्रिकेटलाई नयाँ उचाइ दिनेछ,” गुप्ताले भने। उनले टिमका खेलाडीहरूलाई जर्सी हस्तान्तरण गर्दै प्रोत्साहन प्रदान गरे।
एनएसपीएल नेपालको क्रिकेट इतिहासमा एक महत्वपूर्ण कोसेढोङ्गा हो। यो लिगमा विभिन्न प्रदेशका टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ। लुम्बिनी राइडर्सले आफ्नो पहिलो खेल कार्तिक १५ गतेदेखि नै सुरु गर्ने योजना छ। टिममा अनुभवी नेपाली खेलाडीहरूका साथै अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरू पनि समावेश छन्, जसले टिमलाई थप बलियो बनाएको छ।