लुम्बिनीखबर
भैरहवा, १ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा आइतबार क्वेस्ट नेपाल, सिद्धार्थ हबको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा १०औँ एसक्युसी (विद्यार्थी गुणस्तर चक्र) सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ।
“शैक्षिक महाकुम्भ”को रूपमा परिचित यो कार्यक्रममा तिलोत्तमा नगरपालिका तथा छिमेकी नगरपालिकाका करिब ५०० प्रतियोगी विद्यार्थी र २०० भन्दा बढी अवलोकनकर्ता विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रतिस्पर्धाभन्दा पनि समन्वय, सहकार्य र आपसी सद्भावको भावना विकास गर्नु रहेको क्वेस्ट नेपालले जनाएको छ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सामुदायिक विद्यालयका विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमलाई नगरपालिकाले सधैँ प्राथमिकतामा राख्नेछ। अवलोकनकर्ता विद्यार्थीहरूबाट प्राप्त सिकाइले आगामी वर्ष अझै ठूलो स्तरमा यो कार्यक्रम विस्तार गर्न सकिनेछ।”
शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालय र विद्यार्थीबीच आत्मीयता तथा सहकार्य अभिवृद्धिका लागि यो सम्मेलन कोसेढुङ्गा साबित भएको धारणा राख्नुभयो।
त्यसैगरी तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी, क्वेस्ट नेपालका सल्लाहकार दीपक गौतम, केन्द्रीय सदस्य मिलन भण्डारी र मास्टर ट्रेनर रविराज काफ्लेले सम्मेलनले विद्यार्थीहरूमा समस्या आफैँ पहिचान गरी समाधान गर्ने, टिमवर्क, अनुसन्धान क्षमता तथा २१औँ शताब्दीका सामाजिक सीप र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सिद्धार्थ हबका कोअर्डिनेटर तथा मास्टर ट्रेनर प्रकाश चापागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा यसपटक १२ वटा विविध शैक्षिक गतिविधि सञ्चालन गरिएका थिए।
यस वर्षको विशेष आकर्षणका रूपमा थिममा आधारित प्यानल छलफल र विद्यार्थीहरूले आफैँ पहिचान गरेका समस्या समाधान गरेर तयार पारेका करिब ५० वटा एसक्युसी केस स्टडीको प्रस्तुति रहेको थियो।
यसबाहेक नेतृत्व विकास तालिम, हाजिरी जवाफ, ट्रेजर हन्ट, कोडिङ इन पाइथन, भिडियोग्राफी, कोलाज मेकिङ, पुस्तक समीक्षा लगायतका रमाइला तथा शैक्षिक गतिविधिमा विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए। प्रत्येक टिममा ४ देखि १० जना सदस्य रहेका थिए।
विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी सम्मान गरिएको थियो।
क्वेस्ट नेपालले विगत १० वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको यो सम्मेलनले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच शैक्षिक सहकार्य र गुणस्तर अभिवृद्धिमा ठूलो योगदान पुर्याउँदै आएको छ।