लुम्बिनीखबर
सिद्धार्थनगर, २ मंसिर । सिद्धार्थनगर नगरपालिका वडा नं. ४ ले ‘वडाध्यक्ष कप’ अन्तरक्लब टेनिस बल क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी मंसिर ७ गतेदेखि सुरु भई ८ गते समापन हुने वडाध्यक्ष मुक्तिनाथ यादवले जानकारी दिनुभयो ।
सोमबार वडा कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वडाध्यक्ष यादवले यस वर्ष वडास्तरीय १० वटा क्लबले प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो । सहभागी हुने टिमहरूमा कमरिया युवा क्लब, दोगहरा फ्रन्ट युवा क्लब, दोगहरा युवा क्लब, एयरपोर्ट युवा क्लब, मायादेवी युवा क्लबलगायत रहेका छन् ।
गत वर्ष यो प्रतियोगितामा १३ वटा टिमले सहभागिता जनाएका थिए । यसपटक १० ओभरको नकआउट आधारमा खेलाइनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. ४१,००० नगद, द्वितीय पुरस्कार रु. ३१,००० नगद, म्यान अफ द सिरिज पुरस्कार रु. ११,००० नगद र बेस्ट बलर पुरस्कार रु. ५,१०० नगद रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
वडाध्यक्ष यादवका अनुसार यो प्रतियोगिता वडाले प्रत्येक वर्ष नियमित रूपमा गर्दै आएको छ । खेलले युवाहरूमा खेलप्रति उत्साह जगाउने र स्थानीय स्तरमा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास वडा कार्यालयले लिएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र खेल भैरहवास्थित स्थानीय रुपन्देही क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।