लुम्बिनीखबर
भैरहवा, २ मंसिर । उद्योग व्यापार सङ्गठन (चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजनामा सातौं लुम्बिनी महोत्सव–२०८२ मंसिर ३ गतेदेखि २१ गतेसम्म १९ दिनसम्म सञ्चालन हुने भएको छ ।
महोत्सवको उद्घाटनको पूर्वसन्ध्यामा मङ्गलबार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
“स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं” भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, राष्ट्रिय तथा साना घरेलु उद्योग र व्यापारको प्रोत्साहन गर्ने लक्ष्य राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष साचिन रोक्काले बताउनुभयो ।
महोत्सवले लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको प्रचार–प्रसार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क बढाउने, स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग पु¥याउने, कृषिको वैज्ञानिक तथा व्यवसायीकरणमा टेवा दिने, आधुनिक प्रविधि र औद्योगिक उपकरणको प्रदर्शनी तथा जानकारी दिने अपेक्षा गरिएको छ । साथै स्थानीय स्तरमा उत्पादित हस्तकला, कृषिजन्य सामग्रीको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय बजारको प्रवद्र्धन र युवाहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्नु रहेको आयोजक सदस्यहरूले बताएका छन् । हालसम्म महोत्सवको ९० प्रतिशत तयारी पूरा भइसकेको र बुधबारदेखि औपचारिक रूपमा सुरु हुने आयोजक समितिका सदस्यहरूले जानकारी दिए ।
महोत्सवमा कुल ३५० वटा स्टल रहनेछन् जसमा उद्योगतर्फ १००, कृषितर्फ २०, पर्यटनतर्फ ४०, संघ–संस्थातर्फ २०, बैंक तथा वित्तीय संस्थातर्फ १० र व्यापारिक स्टल १६० वटा रहने चेम्बरका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो ।
महोत्सवमा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको चेम्बरका महासचिव लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांस्कृतिक कार्यक्रम महोत्सवको मुख्य आकर्षण रहने संस्थाका उपाध्यक्ष राममिलन यादवले बताउनुभयो ।