लुम्बिनीखबर
बनारस, उत्तर प्रदेश । काशीमा आयोजित धार्मिक तथा पर्यटन–केन्द्रित भेटघाट कार्यक्रमका क्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकास र प्रवर्धनका लागि भारतीय धर्मालम्बी तथा पर्यटकको भूमिका निर्णायक रहने बताउनुभयो ।।
अध्यक्ष रायमाझीका अनुसार नेपालमा रहेका लुम्बिनी, पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, गुह्येश्वरी, वाग्मती करिडोर लगायतका पवित्र गन्तव्यहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नेपाल सरकारले सुस्पष्ट र व्यवहारिक योजना अघि सार्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो,“नेपाल धार्मिक पर्यटनको महाशक्ति बन्न सक्छ। भारतीय भक्तजनको आस्था नेपालका लागि अवसर हो। एक हप्ता देखि एक महिना बस्न सकिने पूर्वाधार तयार गर्न सरकारले पहल गर्नुपर्छ।”
रायमाझीले भारतीय पत्रकार, धार्मिक अगुवा र पर्यटन व्यवसायीलाई नेपालका तीर्थस्थलहरूको महत्त्व र सम्भावनाबारे अझ सकारात्मक रूपमा प्रवर्द्धन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा महाराजगंज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले नेपाल–भारतका धार्मिक स्थलहरूलाई जोड्ने अभियानलाई पत्रकारिताले बलियो बनाइदिने बताउँदै साझा सांस्कृतिक धरोहरको पहिचानमा सञ्चार माध्यम निर्णायक हुने बताउनुभयो।
उहाँले भन्नुभयो,“धर्म र संस्कृतिले नेपाल–भारत एकै भावनामा बाँधिएका छन्। यी स्थलहरूलाई एकीकृत धार्मिक मार्गका रूपमा प्रस्तुत गर्नु पत्रकारको नैतिक दायित्व हो।”
भेटघाटमा सहभागी उपाध्यक्ष दिपेन्द्र बडवाल,दीपक घिमिरे, सल्लाहकार कुलमणी ज्ञवाली, माधव ढुङ्गाना, सारदा मल्ल, कृष्ण ढकाल र महासचिव प्रकाश न्यौपानेले नेपालका धार्मिक गन्तव्यको प्रवर्द्धनमा भारतीय सञ्चार माध्यमले महत्वपूर्ण योगदान गर्नुपर्नेमा जोडदिनुभयो।
“नेपाल आध्यात्मिक धरोहरको केन्द्र हो। भारतसँगको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत अझ मजबुत बनाउन दुवै पक्षले सहकार्य गर्नुपर्छ।”लुम्बिनी प्रेस क्लवको सार्वजनिक धारणा रहेको देखिन्छ ।
भेटमा सहभागी भारतका महन्त, पर्यटन व्यवसायी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूले नेपाल–भारत धार्मिक पर्यटन सम्बन्ध अझ मजबुत बनाउन प्रतिवद्धता व्यक्त गरेका छन्।
उनीहरूले नेपाललाई “आध्यात्मिक र पवित्र गन्तव्य” का रूपमा वर्णन गर्दै भारतीय भक्तजनका लागि नेपाल सधैं आकर्षणको केन्द्र रहेको बताउनुभयो।