असलम खान । लुम्बिनीखबर
मर्चवारी, २० मंसिर । रुपन्देहीको मर्चवारी गाउँपालिकामा २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भव्यताका साथ मनाइएको छ। स्वास्थ्यका मुख्य सूचकहरूमा रुपन्देही जिल्लामै लगातार तीन वर्षदेखि प्रथम स्थान कायम गरेको उपलक्ष्यमा गाउँपालिकाले सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र साझेदार संस्थाहरूलाई सामूहिक प्रशंसा-पत्रसहित विशेष सम्मान गरेको हो।

दिवसको मुख्य कार्यक्रमअघि बिहान वडा नं ४ दुबौलियाबाट प्राथमिक स्वास्थ्य केन्द्र अमवाससम्म बाजागाजासहित ठूलो प्रभातफेरी (र्याली) निकालिएको थियो। र्यालीमा सयौं महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो।
गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको सभापतित्व तथा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा देवी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न मुख्य कार्यक्रममा गाउँपालिका उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठी, वडा नं २ का अध्यक्ष शशिदयाल चौधरी, वडा नं ४ का अध्यक्ष ओमप्रकाश चौधरी, स्वास्थ्य शाखा प्रमुख फेकन शाहसहित सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविकाको बाक्लो उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उमा देवी थापाले मर्चवारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा देखाएको निरन्तर प्रगति प्रशंसनीय रहेको र यो सफलताको मुख्य श्रेय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई जाने बताइन्।
गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले स्वयंसेविकाहरू गाउँ-गाउँमा स्वास्थ्य सेवाको मेरुदण्ड रहेको भन्दै उनीहरूको योगदानको उच्च कदर गरे।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी चौधरी, स्वास्थ्यकर्मी राधेश्याम हरिजन, स्वास्थ्य शाखा प्रमुख फेकन शाह, छाया नेपालका प्रतिनिधि लक्ष्मण उपाध्याय र वडाध्यक्ष शशिदयाल चौधरीले मन्तव्य राखेका थिए। स्वास्थ्य शाखाका पुरुषोतम घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक राकेश प्रसाद यादवले गरेका थिए।

मर्चवारी गाउँपालिकामा हाल ११७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सक्रिय रूपमा कार्यरत छन्। गाउँपालिकाले स्वास्थ्य सूचकहरूमा जिल्लामै उत्कृष्ट नतिजा ल्याउनुमा यिनै स्वयंसेविकाको घरदैलो सेवालाई मुख्य कारण मानिएको छ।