असलम खान । लुम्बिनीखबर
मर्चवार, २३ मंसिर। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत रुपन्देहीको मर्चवारी गाउँपालिकामा जनप्रतिनिधि, विद्यार्थी र स्थानीय बासिन्दालाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
मर्चवारी गाउँपालिकाको सहकार्य तथा आयोजनामा पालिकाको सभाहलमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक धन रावलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक रावलले भने, “लैङ्गिक हिंसा समाजको जरा गाडेर बसेको कुरीति हो। यो हिंसा शारीरिक मात्र नभई मानसिक, यौनिक, आर्थिक र सामाजिक सबै प्रकारका हुन्छन्। हिंसा सहेर बस्नु समाधान होइन, बरु प्रतिकार गर्नु र कानुनी बाटो अपनाउनु जरुरी छ।”
उनले लैङ्गिक हिंसाका विभिन्न स्वरूप, कारण, प्रभाव र कानुनी उपचारका बारेमा विस्तृत जानकारी गराउँदै भने, “कसैमाथि हिंसा भएको थाहा पाए तुरुन्त नजिकको प्रहरी चौकी वा १०० नम्बरमा खबर गर्नुस्। पीडितलाई न्याय दिलाउन प्रहरी सदैव तयार छ।”
विशेष गरी विद्यार्थीहरूलाई लक्षित गर्दै उनले थपे, “तिमीहरू घर-परिवार र समाजमा चेतनाको सन्देश बोकेर जान्छौ। एउटा सचेत विद्यार्थीले पूरै गाउँको सोच बदल्न सक्छ। लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको सक्रिय सहभागिता अपरिहार्य छ।”
१६ दिने अभियानको यो कार्यक्रम विद्यार्थीहरू मार्फत घर-घरमा सन्देश पुर्याउने उद्देश्यले आयोजना गरिएको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजकले जानकारी दिएकी थिइन्।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, विभिन्न वडाका जनप्रतिनिधि, शिक्षक-शिक्षिका, ठूलो संख्यामा विद्यार्थी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रम गाउँ-गाउँमा निरन्तर हुनुपर्ने माग राखेका थिए। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभरि मनाइन्छ। मर्चवारी गाउँपालिकाले यो अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।