असलम खान। लुम्बिनीखबर
रुपन्देही, पौष । रुपन्देहीको मर्चवारी गाउँपालिकामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा, नेपाल नियमित रक्तदान संघको समन्वयमा तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रायपुरस्थित गाउँपालिका कार्यालय परिसरमा यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठी, स्वास्थ्य शाखा प्रमुख फेकन शाहसहित युवा, जनप्रतिनिधि, कर्मचारी र समाजसेवीहरूले रक्तदान गरेका थिए। यस कार्यक्रमबाट कुल ३१ युनिट रगत संकलन भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।
रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गया प्रसाद बरईले समाजको हरेक क्षेत्रमा विकासका लागि युवाहरूको सोच अग्रसर रहने बताए। उनले रगतको अभावका कारण हुने मृत्युलाई न्यूनीकरण गर्न युवाहरूको अग्रसरता प्रशंसनीय रहेको रक्तदान गर्ने सबैलाई धन्यवाद दिए। साथै, उनले समाजको असल जिम्मेवारी निर्वाह गर्न र रगतको अभावबाट हुने मृत्यु रोक्न सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरे।

कार्यक्रम अध्यक्ष बरईको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठी, उपाध्यक्ष आशा सिंह, रेडक्रस रुपन्देहीका प्रतिनिधि तथा नेपाल नियमित रक्तदान संघका प्रतिनिधिहरूको आतिथ्यता रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
यस्ता रक्तदान कार्यक्रमहरूले रगतको अभाव झेलिरहेका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।