पशुपति यादव। लुम्बिनीखबर
रोहिणी, पुस । ओमसतिया गाउँपालिका वडा नं. ६ मा रहेको वडा कार्यालय र छोटकी रामनगर स्वास्थ्य चौकीको प्राङ्गणमा संयुक्त सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
शुक्रवार (आज) आयोजित यो कार्यक्रमले स्थानीय स्तरमा सरसफाईको महत्वलाई उजागर गर्दै पर्यावरण संरक्षण र सामुदायिक सहभागितालाई प्रोत्साहन गरेको छ।

वडा अध्यक्ष शिव कुमार धवलका अनुसार, वडा कार्यालय र स्वास्थ्य चौकीले संयुक्त रुपमा आयोजना गरेको यो कार्यक्रममा दुवै कार्यालयको प्राङ्गणमा लगाइएका विभिन्न प्रजातिका बिरुवाहरुको संरक्षणलाई विशेष प्राथमिकता दिइएको थियो। जाडो महिनामा झारपात बढ्ने र त्यसले बिरुवाहरुलाई असर गर्ने भएकाले यो सरसफाईलाई मौसमी आवश्यकतासँग जोडेर सञ्चालन गरिएको हो।
“हामीले बिरुवाहरुको रक्षा गर्दै प्राङ्गणलाई सफा र सुन्दर बनाउने उद्देश्यले यो कार्यक्रम गरेका हौं,” अध्यक्ष धवलले भन्नुभयो, “जाडोमा झारपातले बिरुवालाई हानि पुग्ने र राहत दिने कुरालाई ध्यानमा राखेर यो अभियान चलाएका छौं।”
कार्यक्रममा सहभागी एक स्थानीय बासिन्दाले यो सरसफाईले केवल प्राङ्गण सफा मात्र नभई स्थानीयलाई दाउरा, घाँस र घर छाउनका लागि आवश्यक पातपतिङ्गर उपलब्ध गराउने बताउनुभयो। “यो सरसफाईले हाम्रो वरपर सफा हुने मात्र होइन, हामीले चाहिने दाउरा, पशु चौपायालाई घाँस र घरको छाना छाउनका लागि घाँस पनि प्राप्त गर्छौं,” उहाँले भन्नुभयो। यसले ग्रामीण क्षेत्रमा सरसफाई अभियानलाई व्यावहारिक र लाभदायी बनाएको देखिन्छ।
स्थानीयहरुको दैनिकीमा घाँस, दाउरा र पातपतिङ्गरको सरसफाई कार्यक्रमले स्वास्थ्य चौकी र वडा कार्यालय जस्ता सार्वजनिक संस्थाहरुको प्राङ्गणलाई मात्र सफा राख्ने नभई स्थानीयलाई मौसमी आवश्यकता पूरा गर्न सहयोग पुग्छ।

कार्यक्रममा वडा कार्यालयका कर्मचारी, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो।
सहभागीहरुले झार उखेल्ने, फोहोर संकलन गर्ने र बिरुवाहरु वरपर सफा गर्ने काममा सक्रियता देखाएका थिए। यसले सामुदायिक एकताको उदाहरण पनि प्रस्तुत गरेको छ।
वडा अध्यक्ष धवलले यस्ता कार्यक्रमलाई नियमित बनाउने बताउनुभयो। “आगामी दिनमा पनि यस्ता सरसफाई अभियानलाई निरन्तरता दिएर वडालाई स्वच्छ र हराभरा बनाउने हाम्रो योजना छ,” उहाँले भन्नुभयो।