अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ५ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सहज सूचना, मार्गदर्शन तथा आधिकारिक जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ पर्यटन सूचना केन्द्रको औपचारिक उद्घाटन भएको छ । आईतबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो ।
नेपाल पर्यटन बोर्ड, युएनडीपी, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा अन्य दातृ निकायहरूको सहयोगमा निर्माण गरिएको यो केन्द्र लुम्बिनी होटल संघ नेपालले सञ्चालन गर्नेछ । केन्द्र मायादेवी मन्दिरको मुख्य प्रवेशद्वार (५ नम्बर गेट) नजिकै महिलवार चोकमा स्थापना गरिएको छ ।
कार्यक्रममा लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्माले केन्द्रमा स्थानीय भाषा, राष्ट्रिय भाषा नेपाली तथा अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा लेखन र बोलचाल गर्न सक्ने सूचना अधिकारीहरू खटाइने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने सम्पूर्ण पर्यटकहरूलाई उचित मार्गदर्शन तथा भरपर्दो आधिकारिक जानकारी प्रदान गर्न यो केन्द्र स्थापना गरिएको हो । यसले लुम्बिनीको पर्यटनलाई थप व्यवस्थित र आकर्षक बनाउन मद्दत पुग्नेछ ।”
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले सूचना केन्द्र सञ्चालनमा आएपछि पर्यटकहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै लुम्बिनीको पर्यटन क्षेत्रमा अझै थप गतिविधि तथा पूर्वाधारको अभाव रहेको बताउनुभयो । उहाँले यस केन्द्रले पर्यटकको अनुभवलाई सकारात्मक बनाउनेमा जोड दिनुभयो ।
कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले पर्यटन प्रवद्र्धनका लागि सकारात्मक सोच र रचनात्मक सुझावहरू आवश्यक रहेको भन्दै नगरपालिका यस्ता सुझावहरूलाई योजनामा समावेश गर्न सधैं तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “पालिकाको कमजोरी मात्र देखाएर हुँदैन, तपाईंहरूको पनि भूमिका के छ रु त्यसलाई समेटेर नगर विकासमा लाग्नुहोस् भन्ने अनुरोध छ ।”
यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले केन्द्र स्थापना भएको स्थान पहिले हेर्न नसक्ने अवस्थामा रहेको तर अनावश्यक वस्तुहरू हटाएर सफा गरी सुन्दर बनाइएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी होटल संघ नेपालका निवर्तमान अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीवासीको समग्र आर्थिक विकासका लागि लुम्बिनी विकास कोष र नगरपालिकाले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्य देखिएको बताउनुभयो । उहाँले यो सहकार्यलाई अझैं प्रभावकारी बनाउन जोड दिनुभयो ।
यो पर्यटन सूचना केन्द्रले लुम्बिनीमा आउने पर्यटकहरूको लागि महत्वपूर्ण सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई थप आकर्षक पर्यटन गन्तव्य बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।