अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, माघ । थारु समुदायको प्रमुख पर्व माघी (थारु नयाँ वर्ष–२६४९) को अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा आयोजित छैठौं लुम्बिनी (खिचडी) माघी महोत्सव–२०८२ एकदिने भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।
“हमन संस्कृति हमनके शान पहिचान बचईना हमन के अभियान” नाराका साथ लुम्बिनी थारु आदिवासी युवा संघ, रूपन्देही द्वारा आयोजित यस महोत्सवले थारु संस्कृति, परम्परा, हस्तकला र मौलिक पहिचानको संरक्षण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने उद्देश्यका साथ सम्पन्न भएको हो ।

कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथिको तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजन गर्नुभएको थियो ।
प्रमुख अतिथि हरिजनले माघीलाई थारु समुदायको विशेष पर्व बताउँदै भनिन्, “माघीमा थारु समुदायको मौलिक संस्कृति भरिएको हुन्छ । स्थानीय उत्पादन, हस्तकला, विभिन्न खानाका परिकार र सांस्कृतिक प्रस्तुतिले पूरै बजार तात्छ । नेपालमा माघी हेर्न अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन पनि बढ्दै गएको देखिन्छ ।”
यसैगरी विशिष्ट अतिथिहरूमा वडा अध्यक्षहरू अकरामुद्दिन नाउँ (वडा नं. ३), राजेन्द्र जयसवाल (वडा नं. ८), सुरज कुमार कलवार (वडा नं. १), विनोद कुमार श्रीवास्तव (वडा नं. ४), लुम्बिनी होटल संघ नेपालका पूर्व अध्यक्ष गोविन्द ज्ञवाली लगायत विभिन्न आमा समूह तथा सहयोगी संस्थाका पदाधिकारीहरू सहभागी थिए ।
लुम्बिनी थारु आदिवासी युवा संघ का अध्यक्ष सुनिल थारु चौधरी ले भने, “माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी थारु संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो । यो महोत्सवले हाम्रो पहिचान र शानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्छ ।”
महोत्सवमा झण्डै ५० वटा स्टल राखिएका थिए । थारु समुदायको जीवन्त सांस्कृतिक नृत्य प्रस्तुति, थारु परम्परागत खिचडी तथा मौलिक खानाका परिकारहरूको प्रदर्शनी, थारु झाँकी, र्याली तथा सांस्कृतिक मयुर प्रदर्शन, थारु हस्तकला (शेप) तथा विभिन्न परम्परागत कला प्रदर्शनी लगायत प्रमुख आकर्षणहरू रहेका थिए । यी सबै कार्यक्रमले थारु संस्कृतिको सुन्दर संयोजनलाई प्रदर्शन गर्दै स्थानीय पर्यटन प्रवर्धनमा समेत योगदान पु¥याएको छ ।
यो महोत्सवले थारु समुदायको मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको देखिन्छ ।