लुम्बिनीखबर
सिद्धार्थनगर, १४ माघ । नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा रूपन्देहीको सिद्धार्थनगर स्थित सिद्धार्थ बालगृह (अनाथालय) मा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना कार्कीले अनाथ तथा असहाय बालबालिकालाई सेवा गर्ने अवसर प्राप्त हुँदा अत्यन्त हर्षित भएको बताउनुभयो। उहाँले सिद्धार्थ बालगृहले समाजमा मौन रूपमा गर्दै आएको सेवाप्रति उच्च सम्मान व्यक्त गर्दै बालबालिकाहरू राष्ट्रका भविष्य भएकोले उनीहरूको सुरक्षित तथा उज्ज्वल भविष्य निर्माणमा सङ्घ सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष कार्कीले नेपाल प्रहरी श्रीमती सङ्घले देशभरका विभिन्न क्षेत्रमा अनाथ बालबालिका, ज्येष्ठ नागरिक तथा महिलाहरू लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको जानकारी दिनुभयो। साथै, महिला प्रहरी तथा उनीहरूका परिवारको हितका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्दै प्रहरी परिवारको मनोबल उच्च राख्ने प्रयास जारी रहेको बताउनुभयो।
उहाँले प्रहरी समाजको पहरेदार भएकोले उनीहरूको परिवार खुसी र सन्तुष्ट भए मात्र कर्तव्यप्रति पूर्ण निष्ठा र समर्पण देखाउन सक्ने धारणा राख्नुभयो। सोही अनुसार शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा पनि सङ्घ सक्रिय रहेको उल्लेख गर्दै उहाँले बालगृहमा हाल २० महिनाका एक बालकलाई ३ वर्ष पुगेपछि प्रहरी विद्यालयमा भर्ना गरी पूर्ण होस्टल सुविधासहित अध्ययनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेशकी अध्यक्ष पूजा खत्रीले प्रहरीले समाजसँगको सहकार्यलाई निरन्तरता दिँदै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले श्रीमती सङ्घ पनि यही भावनाका साथ अघि बढिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले नेपाल प्रहरी श्रीमती सङ्घलाई समाजको अभिन्न अङ्गका रूपमा रहेर सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र अगामी दिनमा अनाथालयमा सेवा गर्न जिल्ला प्रहरी कार्यालय तयार रह्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा प्रहरी नायब उपरीक्षक गणेश सापकोटा लगायत अन्य प्रहरी अधिकृतहरूको पनि उपस्थिति रहेको थियो।
भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रममा रूपन्देहीका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्वहरूहरूको बाक्लो सहभागिता रहेको थियो।