लुम्बिनीखबर
मर्चवार, फागुन । जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर ४ (मर्चवार) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भुपेन्द्र प्रसाद यादवले आफ्नो निर्वाचन क्षेत्रमा विकासे एजेण्डासहित घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाताको अपेक्षा संकलनमा व्यस्त रहेका छ्न ।
उम्मेदवार यादवले जनमत पार्टीका विभिन्न तहका समिति सदस्यहरू, नयाँ तथा पुराना कार्यकर्ताहरूसहित टोल–टोल र घर–घरमा पुगेर खुला प्रचार प्रसार गरेका छन् । घरदैलोका क्रममा उनले स्थानीय नागरिकहरूको समस्या सुनेका छन् र उनीहरूको हितमा योजना तथा विकासे एजेण्डा प्रस्तुत गरेका छन् ।
यादवले विशेष गरी कृषक, गरीब, असहाय तथा पिछडिएका वर्गको हितलाई आफ्नो पहिलो प्राथमिकता बनाएका छन् । उनले सामन्तवादी तथा पूँजीवादी शासक वर्गको व्यवस्थालाई जराबाट उखेल्ने र जनताको पक्षमा वैज्ञानिक तथा समानतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनमत पार्टीका केन्द्रीय सचिवसमेत रहेका भुपेन्द्र यादवले मर्चवार क्षेत्रको मुहार फेर्ने संकल्पसहित चुनावी मैदानमा छन् । गत निर्वाचन (२०७९) मा पनि यस क्षेत्रबाट उम्मेदवार बनेका यादवले उल्लेख्य मत प्राप्त गरेका थिए । यस पटक पनि उनी जनताको घरदैलोमा पुगेर विकास, सुशासन र सामाजिक न्यायका मुद्दा उठाउँदै मत मागिरहेका छन् ।
उम्मेदवार यादवको यो अभियानले क्षेत्रका मतदातामा उत्साह थपेको छ । स्थानीयहरूले उनको विकासे योजना र जनमुखी सोचलाई सकारात्मक रूपमा लिएका छन् । जनमत पार्टीले यस क्षेत्रमा बलियो उपस्थिति देखाउँदै अबकी बार जनमत सरकारको नारा दिएर प्रचार गरिरहेको छ ।