अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी , फागुन । रुपन्देही जिल्ला क्षेत्र नम्बर ५ मा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, सिँचाइ, रोजगारी तथा कृषि पूर्वाधारको विकास अपेक्षाकृत रूपमा नभएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको छ ।
निर्वाचन पूर्व उम्मेदवारहरूले ठूला–ठूला प्रतिबद्धता जनाए पनि ती अधिकांश घोषणामा सीमित रहेको तथा कार्यान्वयन प्रभावकारी नभएको गुनासो सर्वसाधारणबाट निरन्तर सुनिन थालेको छ ।
सामाजिक व्यक्तित्व तथा अभियन्ता ओमकार पाण्डेले यस क्षेत्रका सांसदलाई प्रत्यक्ष प्रश्न सोध्नुभएको छ — “विकास किन भएन ?” उहाँका अनुसार निर्वाचनको समयमा उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मत माग्दा जनतालाई ठूला सपना देखाउने गर्छन्, तर जितेपछि क्षेत्रमा कम देखिने, विकास योजनाको अनुगमन र कार्यान्वयनमा चासो नदेखाउने प्रवृत्ति दोहोरिइरहेको छ ।
पाण्डेले बताउनुभयो, “धेरै योजनाहरू कागजमै सीमित छन् । वर्षौंदेखि अधुरा सडक आयोजना, स्वास्थ्य चौकीहरूमा चिकित्सक तथा उपकरणको अभाव, कृषिप्रधान क्षेत्रमा मल, सिँचाइ र बजार व्यवस्थापनको समस्या उस्तै छ । युवाहरू रोजगारी नपाएर वैदेशिक रोजगारीतर्फ धकेलिइरहेका छन् ।”
उहाँले विकासको नाममा बजेट विनियोजन भए पनि त्यसको पारदर्शिता, प्रभावकारिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाउनुभएको छ । “जनप्रतिनिधिले नियमित प्रगति विवरण सार्वजनिक गर्नुपर्छ, जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्छ,” पाण्डेले जोड दिनुभयो । “चुनाव जितेर पाँच वर्ष चुप लागेर बस्ने पुरानो प्रवृत्ति अब बदलिनुपर्छ । जनताले अब परिणाममुखी काम खोजेका छन् ।”
ओमकार पाण्डेले मतदातालाई पनि सचेत हुन आग्रह गर्नुभएको छ । उहाँका अनुसार अब आगामी निर्वाचनमा मतदाताले विगतका प्रतिबद्धता र कार्यसम्पादनलाई आधार बनाएर सचेत निर्णय लिनुपर्ने समय आएको छ । यस क्षेत्रमा सडक, सिँचाइ, स्वास्थ्य तथा रोजगारी जस्ता आधारभूत पूर्वाधारमा देखिएको ढिलासुस्तीले स्थानीयको दैनिकी प्रभावित भइरहेको छ, जसले गर्दा विकासप्रति जनताको विश्वास घट्दै गएको विश्लेषण स्थानीयहरूको छ ।