अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, २२ फागुन । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना जारी रहेको छ। पछिल्लो उपलब्ध मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तोफिक अहमद खान ५ हजार ८७ मत प्राप्त गर्दै अग्रस्थानमा रहनुभएको छ।
उहाँलाई निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार खिमलाल भट्टराईले १ हजार ७३० मतसहित पछ्याइरहनुभएको छ। यस्तै नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले १ हजार ४१७ मत प्राप्त गर्नुभएको छ।
यस निर्वाचन क्षेत्रमा हालसम्म कुल १० हजार ८१८ मत गणना भइसकेको छ। प्रारम्भिक मतपरिणाममा रास्वपाका उम्मेदवार स्पष्ट अग्रता लिइरहनुभएको देखिएको छ।
निर्वाचन अधिकृत कृष्ण रेग्मीका अनुसार यस क्षेत्रमा कुल १ लाख ३४ हजार ४४२ मतदाता रहेका छन्। जसमध्ये ८४ हजार ८३८ मतदाताले मतदान गर्नुभएको थियो।
मतगणना कार्य गैडहवा गाउँपालिकाको कार्यालयमा भइरहेको छ। मतगणना जारी रहँदा अन्तिम नतिजा आउन बाँकी रहेको छ।