लुम्बिनीखबर
भैरहवा, चैत । “आज बचत गरौं, भोली सुरक्षित बनाऔं” भन्ने मूल नाराका साथ ग्लोबल मनी वीक–२०२६ को अवसरमा रुपन्देहीको भैरहवामा सचेतनामूलक र्याली सम्पन्न भएको छ।
लघुवित्त कर्मचारी मञ्च रुपन्देहीको आयोजनामा गरिएको उक्त र्याली भैरहवाको देवकोटा चोकबाट सुरु गरिएको थियो। मञ्चका अध्यक्ष रामनरेश शाहका अनुसार “ग्लोबल मनी सप्ताह–२०२६ (स्मार्ट मनी टक्स)” कार्यक्रमअन्तर्गत चैत २ गतेदेखि चैत ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम तथा र्यालीहरू सञ्चालन भइरहेका छन्।

उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले आर्थिक साक्षरतासम्बन्धी सन्देशसहितका प्लेकार्ड तथा पम्पलेट प्रदर्शन गरेका थिए। र्यालीका क्रममा “कमाऔं, बचाऔं, भविष्य उज्यालो बनाऔं”, “आर्थिक साक्षरता नै समृद्धिको बाटो”, “साना बचत गरौं, ठूला सपना पूरा गरौं” लगायतका नारा घन्किएका थिए।
यसैगरी “लगानीबाट आम्दानी बढाऔं”, “सुरक्षित भविष्य सुनिश्चित गरौं” तथा “कर्जा लिँदा योजना बनाऔं, अनावश्यक ऋणबाट टाढा रहौं” जस्ता सन्देशमार्फत सहभागीहरूलाई वित्तीय अनुशासन र योजनाबद्ध आर्थिक व्यवहार अपनाउन प्रेरित गरिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, भैरहवा शाखाका छविलाल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने र्यालीका लागि आवश्यक प्राविधिक सहयोग टिका बहादुर अधिकारीले गरेका थिए।
कार्यक्रममार्फत सर्वसाधारणमा बचत, लगानी तथा वित्तीय साक्षरताबारे जागरण ल्याउने उद्देश्य रहेको मञ्चकी कोषाध्यक्ष पूजा लुइटेलले बताइन्।
र्यालीमा सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फाइनिटि लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलगायतका वित्तीय संस्थाहरूको समन्वय तथा कर्मचारीहरूको सहभागिता रहेको मञ्चकी उपाध्यक्ष गंगा गोदारले जानकारी दिइन्।