असलम खान । लुम्बिनीखबर
मर्चवार, चैत्र । इस्लामी पात्रोअनुसार दशौं महिनाको पहिलो दिन ईद-उल-फित्र पर्व देशभरका मुसलमानहरूले उत्साहपूर्वक मनाएका छन्।
रुपन्देहीको मर्चवारलगायतका क्षेत्रमा समुदायका सदस्यहरूले नयाँ लुगा लगाई ईदको नमाज पढेका थिए। नमाजपछि ठूला-बडाबाट आशीर्वाद लिइएका थिए। पर्वको विशेषताअनुसार मुसलमानहरूले आफन्त र साथीभाइसँग अंकमाल गर्दै एकअर्कालाई ईद मुबारक भन्दै आशीर्वाद आदानप्रदान गर्छन्।
सेवई, खिर, खजुर जस्ता मिठा परिकारहरूको आदानप्रदानका साथै गरिब तथा विपन्नलाई दान दिने चलन यस पर्वको अर्को महत्वपूर्ण पक्ष हो।

मौलाना तबारक हुसेन खानका अनुसार, कुरानको निर्देशनबमोजिम एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत (२.५%) नगद वा जिन्सी रूपमा जकात गरिबलाई बाँड्ने गरिन्छ, जुन ईदका क्रममा विशेष रूपमा वितरण हुन्छ।
मुस्लिम समुदायले एक महिनासम्मको रोजा (उपवास) पूरा गरेपछि यो खुसीको पर्व मनाउँछन्।