लुम्बिनीखबर
लुम्बिनी, चैत । कपिलवस्तु जिल्लामा विगत केही दिनयता धार्मिक तथा सामाजिक सद्भावमा आँच पुग्ने गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण गरेको छ।
महाराजगञ्ज नगरपालिका–२ वर्गदा (बरगदा) क्षेत्रमा काली मन्दिरमा तोडफोड तथा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावका कारण घाइतेहरूको उपचार भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया सुरु भइसकेको अवस्थामा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत बन्द, हड्ताल वा चक्काजामको हल्ला फैलाएकोप्रति प्रशासनले चासो व्यक्त गरेको हो।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “जिल्लामा सर्वपक्षीय बैठक बसी आवश्यक निर्णय सार्वजनिक भइसकेको, घाइतेहरूको उपचार भइरहेको र दोषीहरूमाथि कारबाही प्रक्रिया अघि बढिसकेको छ। यस्तो स्थितिमा सामाजिक सञ्जालमार्फत बन्दको हल्ला फैलाउनु गैरजिम्मेवारपूर्ण छ।”
सूचनामा असहमति भए पनि वार्ता र संवादबाट समाधान गर्न सकिने विकल्प हुँदाहुँदै नागरिकको दैनिक जीवनयापनमा प्रत्यक्ष असर पार्ने बन्द, हड्ताल, चक्काजाम जस्ता गतिविधि नगर्न /नगराउन र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रमपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोध गरिएको छ।
यसको विपरीत कानुनले निषेध गरेका गतिविधि गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी पनि दिइएको छ।
यसअघि शनिबार ईद तथा चैत्र नवरात्रिको अवसरमा मन्दिरबाट बजाइएको भजनको भोल्युमलाई लिएर दुई समुदायबीच विवाद चर्किँदा झडप भएको थियो। प्रहरीको गोली र लाठीचार्जमा केही घाइते भएका थिए भने महाराजगञ्ज क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरेको छ।

जिल्ला प्रशासन कार्याल
तौलिहवा, कपिलबस्तु
सूचना
मिति २०८२।१२।०९
सूचना विगत केही दिन देखि यस जिल्लामा धार्मिक एवं सामाजिक सद्भावमा आंच आउने खालका गतिविधि एवं त्यसको प्रभावका सम्बन्धमा यस कार्यालय अत्यन्तै गम्भीर छ। उत्पन्न परिस्थितिलाई सहज बनाउन जिल्लामा सर्वपक्षीय बैठक बसी आवश्यक निर्णय सार्वजनिक भई सकेको घाईतेहरुको उपचार भइरहेको र दोषीहरुलाई कानून बमोजिम कारवाहीको प्रकृया शुरु भईसकेको अवस्थामा केही व्यक्तिहरुले सामाजिक संजाल मार्फत गरेको बन्दको हल्ला प्रति यस कार्यालयको ध्यान आकृष्ट भएको छ।
जुनसुकै असहमतिलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने विकल्प हुँदा हुँदै यस जिल्लाको नागरिकको दैनिक जीवनयापनलाई प्रत्यक्ष असर पुग्ने गरी बन्द, हड्ताल, चक्काजाम जस्ता गतिविधिहरु नगर्नु/नगराउनुहुनका साथै सामाजिक संजालको दुरुपयोग गरी भ्रमपूर्ण अभिव्यक्तिहरु नदिनु हुन समेत सबैमा सूचित गरिन्छ । यस विपरित कसैले कानूनले निषेध गरेका गतिविधिहरु गरे/गराएको पाईएमा प्रचलित कानून बमोजिम कडा कारवाही भई जाने व्यहोरा समेत सबैमा सूचित गरिन्छ ।
जनार्दन गौतम
प्रमुख जिल्ला अधिकारी