लुम्बिनीखबर
भैरहवा, चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ शिसैमा आफ्नै किराना पसल सञ्चालन गर्दै आएकी ६० वर्षीया रेनु पटवारको धारिलो हतियार प्रयोग गरी क्रूर हत्या भएको छ । यो घटनामा संलग्न १६ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, गत चैत ३ गते बिहान करिब ७ बजे रेनु पटवारलाई आफ्नै पसलभित्र अनुहार, टाउको, घाँटी, हात तथा शरीरका विभिन्न भागमा बारम्बार धारिलो हतियार प्रहार गरी बीभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवल र रन्यौराबाट खटिएको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी शव जाँच मुचुल्का तयार पारेको थियो ।
प्रारम्भिक अनुसन्धानमा प्रतिवादीको पहिचान नखुले पनि निरन्तर सोधपुछ र अनुसन्धानका क्रममा घटनाको वास्तविकता बाहिर आएको छ । मृतक रेनु पटवारलाई एक दिनअघि अर्थात् चैत २ गते राति करिब ११ बजे चुरोट खरिद गर्न पुगेका १६ वर्षीय किशोरसँग पसलमै सानो विषयमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा पसलमै रहेको फलामको कैंची प्रयोग गरी किशोरले रेनु पटवारको अनुहार, टाउको, घाँटी लगायत शरीरका विभिन्न भागमा आक्रमण गरेको र हत्या गरेपछि कैंची घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त किशोरलाई चैत ७ गते नियन्त्रणमा लिएको थियो । सम्मानित रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । यो घटना कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ ।
घटनास्थलबाट प्रहरीले फलामको कैंची १ थान र ३ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा मार्फत जानकारी दिनुभयो। घटनाको थप विवरण गोप्य राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
