कमल रायमाझी
भैरहवा, चैत्र । रुपन्देही क्षेत्र नम्बर १ बाट अत्याधिक मतसहित निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य सुनिल लम्सालले जिल्लालाई तस्करी नियन्त्रण र भ्रष्टाचारमुक्त बनाउने स्पष्ट लक्ष्यसहित कडा अभियान सुरु गर्नुभएको छ। निर्वाचित भएलगत्तै उहाँले जिल्लाका विभिन्न सरोकारवाला निकाय, सुरक्षा प्रमुख र प्रशासनसँग निरन्तर छलफल तथा अन्तरक्रिया गर्दै सुशासनमुखी रुपन्देही निर्माणमा सक्रियता देखाउनुभएको हो।
स्थानीयवासीका अनुसार लम्सालले आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित नभई समग्र जिल्लाको वस्तुस्थिति अध्ययन गर्दै तस्करी, चोरी र भ्रष्टाचार न्यूनीकरण गर्ने ठोस योजना अघि सार्नुभएको छ। बुद्धिजीवीहरूका अनुसार उहाँको पहलले विगतदेखि जकडिएको अवैध क्रियाकलाप नियन्त्रणतर्फ ठोस संकेत देखिएको छ।
रुपन्देहीका स्थानीय गणेश चौधरीले भन्नुभयो, “पहिले खुलेआम हुने चोरी तस्करी अहिले घट्दो क्रममा छ। सुरक्षा निकायको उपस्थिति उल्लेख्य रूपमा बढेको छ, जुन सकारात्मक संकेत हो।”
त्यस्तै, सीमा क्षेत्रमा बसोबास गर्ने व्यवसायी तथा बौद्धिक व्यक्तित्व इरफान वारिस खानका अनुसार पछिल्लो समय सुरक्षाकर्मीहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। “हिजो सुरक्षाकर्मी देखिँदैनथे, अहिले चोक–चोक र गल्ली–गल्लीमा परिचालन भएका छन्। एक व्यक्तिको दृढ इच्छाशक्तिले परिवर्तन सम्भव हुँदो रहेछ,” उहाँले भन्नुभयो।
लम्सालले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरूसँग प्रत्यक्ष समन्वय गर्दै शान्ति सुरक्षा सुदृढ बनाउने, तस्करी नियन्त्रण गर्ने र सुशासन कायम गर्ने निर्देशनात्मक पहल लिनुभएको स्रोतले जनाएको छ। उहाँको अभियानलाई सुरक्षाकर्मी तथा सरकारी निकायले आंशिक रूपमा कार्यान्वयन गरिरहेका छन् भने दीर्घकालीन निरन्तरताको अपेक्षा गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्रीले समेत तल्लो तहसम्म कडा निर्देशन जारी गर्दै तस्करी, लागुऔषध र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुभएको बताइएको छ।
रुपन्देहीका उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा बुद्धिजीवीहरू लम्सालको अभियानबाट उत्साहित देखिएका छन्। उनीहरूका अनुसार सुशासन, पारदर्शिता र कानुनी राज्यको स्थापनाका लागि यस्ता पहल दीर्घकालीन रूपमा निरन्तर हुन आवश्यक छ।
स्थानीय तहमा बढ्दो जनसमर्थनका बीच लम्साललाई भविष्यमा केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ। कतिपयले उहाँलाई भावी गृहमन्त्रीको रूपमा समेत हेर्न थालेका छन्, यद्यपि यसको निर्णय राजनीतिक समीकरणमा निर्भर रहने विश्लेषकहरू बताउँछन्।
समग्रमा, सुनिल लम्सालले सुरु गरेको सुशासन र तस्करी नियन्त्रण अभियानले रुपन्देही मात्र होइन, लुम्बिनी प्रदेश हुँदै देशव्यापी रूपमा नयाँ सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। बालेन शाह प्रधानमन्त्री बन्दै गर्दा उहाँको टिममा काम गर्न सक्ने क्षमता भएका व्यक्ति सुनिल लम्साल गृहमन्त्री हुनु देशको माग भएको आम जनसमुदायको चाहना देखिन्छ ।