अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, वैशाख। लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोग तथा बुद्धभूमि आमा समूहको आयोजनामा महिलाहरू लक्षित बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा सिद्धार्थनगर सिटी हस्पिटलले प्राविधिक सहयोग प्रदान गरेको थियो भने चेम्बर अफ कमर्सको समेत सहकार्य रहेको थियो।
कृष्ण बहादुर गुरुङ र बुद्धभूमि आमा समूहकी अध्यक्ष मिरा गौतमको संयोजकत्वमा नगरस्तरमै सञ्चालन गरिएको यस शिविरमा करिब एक सय महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण तथा परामर्श सेवा लिएका छन्।
शिविरमा विशेषगरी पाठेघर (सर्भाइकल) क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान, परीक्षण तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य जाँचको महत्व, क्यान्सरका लक्षणहरूको पहिचान तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रमका क्रममा महिलाहरूमा बढ्दो क्यान्सर जोखिम न्यूनीकरणका लागि सचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागी महिलाहरूले यस्ता कार्यक्रमले ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। विशेषगरी आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने महिलाहरूका लागि यस्ता निःशुल्क शिविर अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
आयोजक संस्थाका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने योजना रहेको बताएका छन्। महिलाहरूको स्वास्थ्य सुरक्षा र सचेतनालाई प्राथमिकतामा राख्दै थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
शिविरमा सिटी हस्पिटलका एमडी अर्जुन पौडेल, विद्वया गौतम लगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए। कार्यक्रममा नगरप्रमुख कल्पना हरिजन, सामाजिक विकास प्रमुख शेषराम यादव, बुद्धभूमि आमा समूहका पदाधिकारी तथा तेनुहवा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।