अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, वैशाख । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ पिपरा स्थित भैरहवा–कपिलवस्तु हुलाकी सडकखण्डमा हिजो (विहिवार) भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार पर्साबाट भैरहवा तर्फ जाँदै गरेको BAA0079 नम्बरको कारले सोही दिशा तर्फ गइरहेको UP55B 0039 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको सिद्धार्थनगर जिल्ला कक्रहवा निवासी अन्दाजी २१ वर्षीय ब्रम कुमार लोध सामान्य घाइते भएका छन् भने पछाडि सवार अन्दाजी ४० वर्षीय बाबु साहेब लोध गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते बाबु साहेब लोधलाई उपचारका लागि भिम अस्पताल भैरहवा लगिएको थियो र सोहि दिन दिउँसो करिब १२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबास निवासी २६ वर्षीय राज अग्रहरी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।