पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, बैशाख । ओमसतिया गाउँपालिकाले कानुन दिवसको अवसरमा कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुनिता चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय तहमा कानुनको प्रभावकारी कार्यान्वयन र नागरिक सचेतनाका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले स्थानीय तहमा कानुनको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले कानुनी सचेतना अभिवृद्धि बिना सुशासन र दिगो विकास सम्भव नहुने बताउँदै यस्ता प्रशिक्षण कार्यक्रमले कानुनप्रतिको बुझाइ वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष यादवले गाउँपालिकाले नागरिकलाई न्यायमा सहज पहुँच दिलाउन तथा पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै कानुनको पालना सबैका लागि अनिवार्य रहेको बताउनुभयो । उहाँले समाजमा देखिने विवाद र समस्याहरूलाई कानुनी प्रक्रियाबाट समाधान गर्न सकिने भएकाले सबैले कानुनप्रति सकारात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले स्थानीय स्तरमै छिटो, सुलभ र प्रभावकारी न्याय प्रदान गर्नु न्यायिक समितिको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । उहाँले न्यायिक समितिमार्फत आएका उजुरीहरूलाई कानुनी प्रक्रिया अनुसार निष्पक्ष रूपमा समाधान गरिने जानकारी दिँदै नागरिकहरूलाई आफ्नो समस्या समाधानका लागि स्थानीय तहमै उपलब्ध संयन्त्र प्रयोग गर्न आग्रह गर्नुभयो ।
विशेष गरी महिलाहरू, दलित, गरिब तथा सीमान्तकृत समुदायका व्यक्तिहरू न्यायबाट वञ्चित नहुने वातावरण सिर्जना गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले कानुनी सचेतनाको अभावले नागरिकहरूलाई आफ्नो अधिकारबाट वञ्चित गराउने भएकाले यस्ता कार्यक्रमले उनीहरूलाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले कार्यक्रमको महत्व र उद्देश्यमाथि प्रकाश पार्दै कानुनको ज्ञान बिना अधिकारको प्रयोग र कर्तव्यको पालना प्रभावकारी नहुने बताउनुभयो । उहाँले ‘कानुन जान्दिनँ’ भनेर कसैले पनि उम्किन नपाउने स्पष्ट गर्दै राज्यले बनाएको कानुन सबैका लागि समान रहेको र यसको पालना प्रत्येक नागरिकको दायित्व भएको जोड दिनुभयो ।
अधिवक्ता तुलसीराम ढकालले कानुन व्यक्ती, सम्पत्ति, कर्तव्य र अधिकारको समग्र संरक्षण तथा व्यवस्थापन गर्ने आधार भएको बताउनुभयो । उहाँले कानुनले व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्तिको सुरक्षा गर्दै अधिकार र कर्तव्यबीच सन्तुलन कायम गर्ने भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य शेर सिंह थकालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष मदन प्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण अधिवक्ता तुलसीराम ढकालले गर्नुभएको थियो ।