पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, बैशाख । रूपन्देहीको रोहिणी गाउँपालिका–३ रामनगर तथा धकधई क्षेत्रमा लागूऔषधजन्य पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको पहिचान गर्न प्रहरीले ‘डेल्टा अप्रेसन’ अभियानलाई तीव्रता दिएको छ। इलाका प्रहरी कार्यालय धकधईले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको जनाएको हो।
प्रहरीका अनुसार लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै जाँदा सडक दुर्घटनाका घटना समेत दिनप्रतिदिन वृद्धि भइरहेका छन्। यस्तो अवस्थालाई नियन्त्रण गर्दै सडक दुर्घटना न्यूनीकरण गर्न र दोषी चालकलाई कानुनी दायरामा ल्याउन अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।
डेल्टा अप्रेसन अभियानका अभियन्ताहरूले लागूऔषध अहिले समाजको जल्दोबल्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै अभिभावकलाई आफ्ना बालबालिकाप्रति सचेत रहन आग्रह गरेका छन्। आफ्ना सन्तानलाई लागू पदार्थको जोखिमबाट जोगाउन नियमित निगरानी आवश्यक रहेको इलाका प्रहरी कार्यालय धकधईका प्रमुखले जानकारी दिएका छन्।
यो अभियान लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय धकधई तथा ट्राफिक प्रहरी कार्यालय धकधईको समन्वयमा सञ्चालन गरिएको संयुक्त अभियान टोलीले जनाएको छ। संयुक्त टोलीले अभियानलाई ‘डेल्टा अप्रेसन’ नामकरण गरी लागूऔषध नियन्त्रण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि निरन्तर सञ्चालन गरिने जनाएको छ।