अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, जेठ । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले आफ्नै घरको आँगनबाट डोजर सञ्चालन गर्दै सार्वजनिक जग्गा संरक्षण अभियानको औपचारिक सुरुवात गर्नुभएको छ।
“पहिले आफैंले आँखा चिम्लेर अतिक्रमण गरेको जग्गा खाली गर्नुपर्छ, अनि मात्र अरूलाई भन्न मिल्छ,” डोजरको आवाजबीच दृढतापूर्वक उहाँले भन्नुभयो।
नेपाल सरकारको निर्देशनअनुसार सार्वजनिक सम्पत्ति, पर्ती जग्गा र ऐलानी जग्गा संरक्षण अभियानलाई प्रभावकारी बनाउन उहाँले आफ्नै निवासबाट यो अभियान थाल्नुभएको हो। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १, खुनगाई टोलस्थित उहाँको घरबाट सुरु भएको अभियानले सम्पूर्ण नगरपालिकाभित्रका अतिक्रमित सार्वजनिक जग्गाहरू खाली गर्ने लक्ष्य राखेको छ।
कार्यवाहक नगरप्रमुख हरिजनले भन्नुभयो, “विकास निर्माण र मेलमिलापका लागि गाउँगाउँ जाँदा बारम्बार ‘पहिले आफ्नै अतिक्रमण हटाउनुस्’ भन्ने आवाज आउँथ्यो। मैले त्यसलाई चुनौती होइन, अवसरको रूपमा लिएँ र आज आफैंबाट सुरु गर्दैछु।”
“नियम सबैका लागि बराबर हुनुपर्छ — चाहे जनप्रतिनिधि होऊन्, कर्मचारी होऊन् वा आम नागरिक। कसैलाई पनि छुट छैन,” उहाँको स्पष्ट भनाइ छ।
यो कदमप्रति स्थानीयवासीहरूले व्यापक प्रशंसा गरेका छन्। धेरैले यसलाई “साँच्चैको नेतृत्व” र “अनुकरणीय उदाहरण” भनेका छन्।
कार्यवाहक नगरप्रमुख हरिजनले सर्वसाधारणमा पनि अपिल गर्नुभएको छ — “अतिक्रमण भएका सार्वजनिक जग्गा र सम्पत्तिबारे जानकारी दिनुहोस्। हामी सबै मिलेर लुम्बिनीको सार्वजनिक सम्पत्तिलाई संरक्षण गरौं।”