झब्बर यादव । लुम्बिनीखबर
भैरहवा, जेठ । सामाजिक विकास डिभिजन कार्यालय, रूपन्देहीको आयोजनामा सम्पन्न लुम्बिनी प्रदेश माननीय कप क्रिकेट प्रतियोगिता २०८२/८३ को उपाधि सिद्धार्थनगर नगरपालिका वडा नं. ९ ले जितेको छ।
सिद्धार्थ क्रिकेट रङ्गशालामा सम्पन्न फाइनल खेलमा सिद्धार्थनगर–९ ले सिद्धार्थनगर–१ लाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
प्रतियोगितामा १८ वडामध्ये १७ वटा टिमको सहभागिता थियो। उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको सिद्धार्थनगर–९ ले नगद रु. ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सिद्धार्थनगर–१ ले रु. २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सिद्धार्थनगर–१ का आजाद खान ‘प्लेयर अफ द सिरिज’ तथा ‘बेस्ट ब्याट्सम्यान’ घोषित भए। यस्तै, सिद्धार्थनगर–९ का हसन पठान ‘बेस्ट बलर’ र फाइनलमा शानदार प्रदर्शन गरेका आरिफ खान ‘म्यान अफ द म्याच’ चुनिए।
समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोष कुमार पाण्डे ले विजयी तथा सहभागी खेलाडीहरूलाई बधाई दिँदै प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नभई भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियान भएको बताउनुभयो।
मन्त्री पाण्डेले भन्नुभयो, “यो प्रतियोगिता प्रतिभा पहिचान र खेलाडी उत्पादनको महत्वपूर्ण आधार हो। एनपीएलजस्ता ठूला प्रतियोगितामा यस क्षेत्रका खेलाडीलाई अवसर दिलाउन आवश्यक वातावरण निर्माण गरिनेछ। मन्त्री भए नभए पनि क्रिकेट तथा खेलकुदका गतिविधिहरू निरन्तर सञ्चालन हुनेछन्।”
उहाँले क्रिकेट विकासका लागि केन्द्र सरकारबाट रु. ३५ लाख बजेट छुट्ट्याउने र ड्युज बलमा खेलाउने तालिमको व्यवस्था मिलाउने प्रतिबद्धता पनि गर्नुभयो। खेलकुद पूर्वाधार निर्माण, युवा क्षमता अभिवृद्धि तथा सामाजिक रूपान्तरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको अध्यक्षता सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख हरि बहादुर बिष्ट ले गर्नुभएको थियो भने नेपाल क्रिकेट संघका प्रशान्त विक्रम मल्ल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रम संयोजक विजय सिंह ज्ञवाली ले स्थानीय स्तरमा क्रिकेटको विकास, प्रतिभा पहिचान र युवालाई खेलकुदप्रति आकर्षित गर्न यस्ता प्रतियोगिताहरू प्रभावकारी माध्यम भएको बताउनुभयो।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारासहित सञ्चालन गरिएको यो प्रतियोगिताले युवामा खेल संस्कृतिको विकास गर्दै “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” निर्माणको लक्ष्यमा टेवा पुर्याएको आयोजकको विश्वास छ।
सिद्धार्थ क्रिकेट रङ्गशालामा सम्पन्न प्रतियोगिताले स्थानीय तहमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।