पशुपति यादव। लुम्बिनीखबर
रोहिणी, जेठ । हावाहुरी र वर्षाका कारण भाँचिएर खसेको बिजुलीको तारमा करेन्ट लागेर रोहिणी गाउँपालिका वडा नम्बर ३ परासी झुवाका शान्ति तेलीको भैंसीको मृत्यु भएको छ।
२४ गते साँझको समयमा आएको हावाहुरी र भारी वर्षाले गर्दा बिजुलीको तार भाँचिएर सडकमा खसेको थियो। उक्त खसेको तारमा भैंसी चराउन लग्दा करेन्ट लागेर भैंसीको घटनास्थलमै मृत्यु भएको हो।
भैंसीका मालिक शान्ति तेलीले बताएअनुसार, हावाहुरी र पानीका कारण बिजुली आपूर्ति बन्द भएको अवस्थामा पनि विद्युत प्राधिकरणले तार र पोलको राम्रोसँग जाँच नगरी विद्युत प्रवाह गर्दा यस्तो दुर्घटना भएको हो।
स्थानीयबासीहरूले पनि विद्युत कार्यक्षेत्रका कर्मचारीहरूले हावाहुरीको बेला तार तथा पोलहरूको निरीक्षण नगरी विद्युत सप्लाई गर्नु नै दुर्घटनाको मुख्य कारण भएको बताएका छन्। उनीहरूका अनुसार, हावाहुरी आउँदा विद्युत कर्मचारीले चेकजाँच गरी मात्र विद्युत प्रवाह गरेमा यस्ता घटनाबाट बच्न सकिन्छ।
शान्ति तेलीको लाखौं मूल्य बराबरको भैंसी गुमाउँदा स्थानीय कृषकहरू मर्माहत भएका छन्। घटनाप्रति विद्युत प्राधिकरणले ध्यान दिन र यस्ता दुर्घटनाहरू रोक्न प्रभावकारी कदम चाल्न स्थानीयहरूले माग गरेका छन्।