लुम्बिनीखबर
भैरहवा, जेठ ३१। रूपन्देहीका वरिष्ठ पत्रकार अरुण ज्ञवाली (अरुणराज शर्मा) को उपचारका क्रममा निधन भएको छ। केही दिनदेखि अस्वस्थ रहेका ज्ञवालीको आइतबार बिहान भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले ज्ञवालीको निधन भएको पुष्टि गर्दै पत्रकारिता क्षेत्रले एक इमान्दार, अनुभवी तथा समर्पित पत्रकार गुमाएको बताएका छन्।
सिद्धार्थनगर नगरपालिका–३ निवासी ज्ञवाली विगत साढे दुई दशकदेखि सक्रिय पत्रकारितामा संलग्न थिए। उनले स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध भई लामो समयदेखि पत्रकारितामार्फत समाजका विविध विषय उजागर गर्दै आएका थिए। जेठ २७ गते बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो।
५४ वर्षीय ज्ञवाली खोजमूलक पत्रकारितामा विशेष रुचि राख्ने, शालीन स्वभावका तथा प्रभावशाली लेखनशैलीका पत्रकारका रूपमा परिचित थिए। उनको निधनले रूपन्देहीसहित समग्र नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको अध्यक्ष रायमाझीले बताएका छन्।
ज्ञवालीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर देवघाटमा अन्त्येष्टि गरिनेछ।
यसैबीच, लुम्बिनी प्रेस क्लबले शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। क्लबका महासचिव प्रकाश न्यौपानेद्वारा जारी वक्तव्यमा रूपन्देहीलाई कर्मथलो बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका तथा क्लबका तालिम समिति संयोजक ज्ञवालीको असामयिक निधनले क्लब परिवार मर्माहत भएको उल्लेख गरिएको छ।
वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।