असलम खान। लुम्बिनीखबर
मर्चवार, असार । मर्चवारीमाई गाउँपालिकाको २० औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा सम्पन्न अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ८० लाख ९० हजार रुपैयाँ बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
अधिवेशनमा गाउँपालिका उपाध्यक्ष आशा सिंह विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। गाउँसभामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार, सहकारी, सुशासन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बरईले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध, आत्मनिर्भर र व्यवस्थित मर्चवारीमाई निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो। उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, उन्नत बीउबिजन वितरण, कृषि यान्त्रीकरण, व्यावसायिक खेती विस्तार तथा युवालाई कृषि र उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो।
अध्यक्ष बरईले गाउँपालिकाभित्र रहेका मठमन्दिर, पोखरी तथा तालहरूको संरक्षण, सौन्दर्यीकरण र प्रवर्द्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटन विकासमा जोड दिइएको उल्लेख गर्नुभयो। साथै सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जनउत्तरदायी बनाउँदै नागरिकलाई सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि उपाध्यक्ष आशा सिंहले प्रस्तुत नीति तथा कार्यक्रमले महिला, युवा, किसान, उद्यमी तथा विपन्न समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँका अनुसार सहकारी शाखा कार्यक्रम तथा योजनाका लागि २ लाख रुपैयाँ, रोजगार शाखाका योजना तथा कार्यक्रमका लागि ३ लाख रुपैयाँ, मेडपा कार्यक्रमका लागि २ लाख रुपैयाँ तथा मनोपरामर्श कार्यक्रमका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसैगरी चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकी बाँकी रहेका योजनाहरूलाई निरन्तरता दिन ५० लाख रुपैयाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो।
उहाँले गाउँपालिकाले स्वरोजगार, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनमार्फत युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताउँदै महिला तथा विपन्न वर्गलाई आयआर्जनसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले गाउँसभाबाट पारित नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाइने तथा विकास निर्माणका योजनाको गुणस्तरीय कार्यान्वयनमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवर्द्धन, बजार व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवाको विस्तार, सडक तथा अन्य पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, वातावरण संरक्षण, पर्यटन विकास तथा सूचना प्रविधिको प्रयोग विस्तारलगायतका विषय समेटिएका छन्।
अध्यक्ष बरईले प्रस्तुत नीति तथा कार्यक्रम सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी तथा सम्पूर्ण गाउँवासीको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै सबैलाई विकास र समृद्धिको अभियानमा एकताबद्ध हुन आग्रह गर्नुभयो।
गाउँसभाले आगामी आर्थिक वर्षमा विकास निर्माण, सेवा प्रवाह, सुशासन र आर्थिक समृद्धिलाई थप प्रभावकारी बनाउँदै मर्चवारीमाई गाउँपालिकालाई नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।