logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ओमसतिया गाउँपालिकाको ५१ करोड १० लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता


    ११ असार २०८३ , बिहिबार

    ओमसतिया गाउँपालिकाको ५१ करोड १० लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

    पशुपति यादव। लुम्बिनीखबर

    रोहिणी, असार । रूपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो।

    गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। उनले समावेशिता, पारदर्शिता, विकास र सुशासनलाई आधार बनाएर बजेट निर्माण गरिएको बताइन्।

    उपाध्यक्ष चौधरीका अनुसार आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १० लाख ५४ हजार रुपैयाँ बराबरको स्रोत व्यवस्थापनको अनुमान गरिएको छ। स्रोततर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख रुपैयाँ, सशर्त अनुदान ४० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

    त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ८१ लाख ८३ हजार रुपैयाँ, सशर्त अनुदान १ करोड ५५ लाख रुपैयाँ तथा समपूरक अनुदान ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। राजस्व बाँडफाँडतर्फ सङ्घीय सरकारबाट ९ करोड ७८ लाख ६२ हजार रुपैयाँ, प्रदेश सरकारबाट ९९ लाख ९६ हजार रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँडबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य पनि राखेको छ।

    खर्चतर्फ चालु खर्चका लागि ३३ करोड ८९ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने विकास निर्माण तथा पूँजीगत कार्यक्रमका लागि १७ करोड २१ लाख १९ हजार रुपैयाँ छुट्याइएको छ।

    गाउँसभामा प्रस्तुत बजेटमा पालिकाको प्रशासनिक भवन निर्माणलाई समेत प्राथमिकता दिइएको छ। भूमिपूजन भएको दिनदेखि १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ। भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहीहरूले एकीकृत र छिटोछरितो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    उपाध्यक्ष चौधरीले प्रस्तुत बजेटले गाउँपालिकाको आवधिक योजनाले निर्धारण गरेका लक्ष्य तथा उद्देश्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्। कृषि, शिक्षा, स्वास्थ्य, सुशासन र पूर्वाधारका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयनमार्फत पालिकाको समग्र विकासलाई तीव्रता दिइने उनले बताइन्।

    यसैबीच, गाउँपालिका अध्यक्ष मञ्जितकुमार यादव (सोनु) ले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। अध्यक्ष यादवले ओमसतियालाई सुशासित, समृद्ध, प्रविधिमैत्री तथा नागरिकमैत्री स्थानीय सरकारका रूपमा स्थापित गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

    नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक, भौतिक, वातावरणीय तथा संस्थागत विकासका विभिन्न पक्ष समेटिएका छन्। बजेट तथा नीति कार्यक्रममार्फत विकास निर्माणका गतिविधिलाई तीव्रता दिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको अध्यक्ष यादवले बताए।

    गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मदन पोखरेलको स्वागत मन्तव्य रहेको गाउँसभा कार्यक्रम विभिन्न जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.