logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ओमसतियाको समृद्धिमाथि खुला बहस


    १७ असार २०८३ , बुधबार

    ओमसतियाको समृद्धिमाथि खुला बहस
    oplus_4194304

    पशुपति यादव। लुम्बिनीखबर 

    रोहिणी, १७ असार । रुपन्देहीको ओमसतिया गाउँपालिकामा समाचार महोत्सव सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रेस क्लबको सहकार्यमा आयोजित महोत्सवमा विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सार्वजनिक सेवाप्रवाहका विषयमा खुला बहस गरिएको थियो।

    कार्यक्रममा सहभागी पत्रकार, स्थानीयवासी तथा सरोकारवालाहरूले पालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दै गाउँपालिकाको कार्यसम्पादनबारे जिज्ञासा राखेका थिए। सहभागीहरूले गाउँपालिकाले विगत चार वर्षमा गरेका विकास निर्माणका कामको प्रशंसा गर्दै केही क्षेत्रमा सुधार आवश्यक रहेको औंल्याएका थिए।

    कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी र पर्यटनका विषयमा गम्भीर प्रश्न उठाइएका थिए। सहभागीहरूले हरेक वर्ष लाखौं रुपैयाँ बजेट विनियोजन भए पनि अपेक्षित उपलब्धि नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए। लक्षित वर्गका कार्यक्रम, रोजगारमूलक तालिम, कृषि तथा उद्यमशीलता क्षेत्रमा खर्च भएको बजेटको प्रभावकारिताबारे समेत प्रश्न उठाइएको थियो।

    शिक्षा क्षेत्रमा गरिएको लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त नभएको भन्दै विद्यार्थी, अभिभावक तथा सामाजिक अभियन्ताहरूले गुणस्तरीय शिक्षामा थप ध्यान दिन आग्रह गरेका थिए। यस्तै, पालिकाभित्र रहेका सतियामाई मन्दिर, रोहिणी नदी, रामजानकी मन्दिर, जमुहानी पोखरी, ताल तथा कर्मडाँडालगायत पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनमा पर्याप्त ध्यान नपुगेको विषय पनि उठाइएको थियो।

    पत्रकारहरूले लक्षित कार्यक्रमहरूमा सीमित संस्थामार्फत बारम्बार बजेट खर्च हुने गरेको विषय उठाएपछि उपाध्यक्ष सुनिता चौधरीले कार्यक्रमहरूको उपलब्धि भए पनि त्यसको पर्याप्त प्रचार–प्रसार हुन नसकेको बताइन्। उनले सिलाइ–कटाइ, ब्युटी पार्लर, सीपमूलक तालिम तथा महिला नेतृत्व विकास कार्यक्रममार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको जानकारी दिइन्। साथै, महिला तथा बालबालिकाका लागि पोषण र सुत्केरी कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको पनि उनले बताइन्।

    पालिका अध्यक्ष मन्जित कुमार यादवले सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण अपेक्षाअनुसार काम गर्न चुनौती रहेको स्वीकार गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, पर्यटकीय क्षेत्रको विकास तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले ओमसतियाको समृद्धि, कृषि तथा पर्यटनको बजारीकरणका सम्भावनाबारे सरोकारवालासँग प्रश्न राख्दै जवाफदेहिताको अभ्यास गराएका थिए। कार्यक्रममा सहभागीहरूले पालिकाको विकास, समस्या र सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

    पालिकाका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले विद्यालयहरूमा विषयगत शिक्षक तथा दरबन्दी अभाव रहेको जानकारी दिँदै शैक्षिक व्यवस्थापनमा चुनौती रहेको बताए।

    लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपक घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश न्यौपानेले गरेका थिए। कार्यक्रममा क्लबका पूर्वअध्यक्ष नरेश केसी, वडा नम्बर ५ का वडाध्यक्ष तथा पालिका प्रवक्ता मदनप्रसाद पोखरेललगायतले समृद्ध ओमसतिया निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

    ‘जिम्मेवार सञ्चार समृद्धिको आधार’ भन्ने मूल नारासहित सम्पन्न महोत्सवमा पालिका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.