लुम्बिनीखबर
भैरहवा, असार १९ । सामुदायिक विद्यालयमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका रूपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ। सामाजिक विकास डिभिजन कार्यालय, रूपन्देहीको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै ल्यापटप हस्तान्तरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले विद्यार्थीको सफलताको आधार आफ्नै मेहनत, अनुशासन र निरन्तर अभ्यास रहेको बताए। सफलतामा ९९ प्रतिशत भूमिका विद्यार्थीको परिश्रमको हुने उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
विद्यार्थी तथा अभिभावकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पद र जिम्मेवारी परिवर्तन भइरहने भए पनि विद्यार्थी र युवासँगको सम्बन्ध कहिल्यै नटुट्ने बताए। “मन्त्रीहरू आउँछन्, जान्छन् र एक दिन पूर्वमन्त्री पनि भइन्छ। तर म सधैँ तपाईंहरूको परिवारको सदस्यका रूपमा रहनेछु,” उनले भने। विद्यार्थी र युवाको भविष्यप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै उनले शिक्षा, खेलकुद, सीप विकास तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिए।
मन्त्री पाण्डेले सीमित स्रोत–साधनका बाबजुद उत्कृष्ट नतिजा हासिल गरिरहेका सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक तथा कर्मचारीको योगदान प्रशंसनीय रहेको बताए। उनले ल्यापटप वितरणजस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक बनाइने पनि बताए।
सम्मानित विद्यार्थी पूजा विश्वकर्माले प्राप्त ल्यापटप अध्ययन, अनुसन्धान तथा डिजिटल सिकाइलाई थप प्रभावकारी बनाउन उपयोग गर्ने बताइन्। यस्तो सम्मानले अझ राम्रो गर्ने हौसला बढाएको उनको भनाइ थियो।
सामाजिक विकास डिभिजन कार्यालय, रूपन्देहीका प्रमुख हरिबहादुर विष्टले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक ऊर्जा, आत्मविश्वास र उत्कृष्ट नतिजा हासिल गर्ने प्रेरणा जगाउने बताए।
कार्यक्रममा लीलाराम माध्यमिक विद्यालयका प्रधानाध्यापक रूपकुमार रायमाझीले सम्मान कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धा र थप मेहनत गर्ने भावना विकास हुने विश्वास व्यक्त गरे। लेखा अधिकृत टोलप्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षा तालिम केन्द्रका प्रमुख हिमलाल खनालले शुभकामना मन्तव्य राखेका थिए।