लुम्बिनीखबर
भैरहवा, २६ असार ।नेपाल–भारत सीमावर्ती रुपन्देहीमा तस्करी, राजस्व चुहावट तथा सीमापार हुने अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाले पछिल्लो समय सक्रियता बढाएको छ।
गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईले जिम्मेवारी सम्हालेपछि सीमा क्षेत्रमा नियमित गस्ती, चेकजाँच, सूचना सङ्कलन तथा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाइएकाले अवैध कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिल्न थालेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाको सूचना शाखाले जनाएको छ।

सूचना शाखाका अनुसार २०८३ जेष्ठ ८ गतेदेखि आजका मितिसम्म विभिन्न नाकाबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेका लत्ताकपडा, हार्डवेयर सामग्री, कस्मेटिक, किराना, फलफूल, पेयपदार्थ तथा मेसिनरी सामान बरामद गरी रु। १ करोड ७० लाख ६१ हजार १४६ बराबरका सामान भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा राजस्व चुहावट रोकथामसँगै लागुऔषध ओसारपसार, अवैध चोरी–तस्करी तथा अन्य सीमापार अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।
गुल्मले सीमावर्ती क्षेत्रमा नियमित पैदल तथा सवारी गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी, सूचना–आधारित अपरेसन तथा नेपाल प्रहरी, भन्सार कार्यालय र स्थानीय प्रशासनसँग समन्वय गरी संयुक्त सुरक्षा अभियान सञ्चालन गर्दै आएको छ।
सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन स्थानीय बासिन्दा, व्यवसायी, भन्सार एजेन्ट, यातायात व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग नियमित अन्तरक्रिया र छलफलसमेत गर्दै आएको छ। यसबाट सीमा सुरक्षामा नागरिक सहभागिता बढ्नुका साथै अवैध गतिविधिबारे समयमै सूचना प्राप्त गर्न सहयोग पुगेको जनाइएको छ।
रुपन्देहीको खुला सीमाका कारण भन्सार छली, अवैध व्यापार तथा लागुऔषध ओसारपसार चुनौतीका रूपमा रहँदै आएको अवस्थामा सशस्त्र प्रहरीले सूचना–आधारित निगरानीलाई थप प्रभावकारी बनाएको जनाएको छ। सीमामा हुने अवैध गतिविधि नियन्त्रणसँगै वैध व्यापारलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नसमेत सुरक्षा निकायले विशेष ध्यान दिएको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाले नेपाल–भारत सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै दुवै देशका सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय कायम गरी सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिएको जनाएको छ।
सीमा क्षेत्रमा राजस्व संरक्षण, तस्करी नियन्त्रण र अपराध न्यूनीकरणका लागि सञ्चालन गरिएका अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने सशस्त्र प्रहरी बलले जनाएको छ।