logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धमा नेतृत्व हस्तान्तरण, सुरज भट्टराई अध्यक्षमा चयन


    २६ असार २०८३ , शुक्रबार

    लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धमा नेतृत्व हस्तान्तरण, सुरज भट्टराई अध्यक्षमा चयन

    लुम्बिनीखबर

    भैरहवा, असार २६ । लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धको ह्याण्डओभर–टेकओभर तथा अवार्ड समारोह बिहीबार सिद्धार्थनगर–४ स्थित रामदा बाइ विन्धाम, भैरहवामा सम्पन्न भएको छ।

    समारोहमा सन् २०२५/२६ का अध्यक्ष सञ्जोग राजले सन् २०२६/२७ का अध्यक्ष सुरज भट्टराईलाई अध्यक्षीय चेन (कॉलर), गाभेल तथा नेतृत्वको जिम्मेवारी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला सल्लाहकार एमजेएफ लायन गौतमकुमार गुप्ता (सीपी) रहेका थिए। विशिष्ट अतिथिमा एमजेएफ लायन प्रशान्तमणि रामदाम (एओजी), एमजेएफ लायन दिनेश कुमार गुप्ता (डिस्ट्रिक्ट चिफ), एमजेएफ लायन सुनिल सेन्चुरी (एरिया को–चिफ), लायन रवि श्रेष्ठ (एरिया ट्रेजरर), लायन गौतम गुप्ता (जोन चेयरपर्सन) तथा नबिल बैंक लिमिटेड प्रदेश–५ का प्रमुख अमित केसी सहभागी थिए।

    क्लबका चार्टर अध्यक्ष एमजेएफ लायन गौतमकुमार गुप्ताले स्थापना कालदेखि क्लबले समाजसेवामा पुर्‍याएको योगदानको चर्चा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।

    समारोहमा सन् २०२५/२६ कार्यकालमा उत्कृष्ट योगदान पुर्‍याउने पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। वक्ताहरूले लायन्स क्लबको सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउँदै समाजप्रतिको उत्तरदायित्व अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

    नवनिर्वाचित अध्यक्ष सुरज भट्टराईले लायन्सको मूल मन्त्र “We Serve” लाई आत्मसात् गर्दै सदस्यहरूको सहकार्यमा समाजसेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पदभार ग्रहणकै अवसरमा नौ जना नयाँ सदस्यलाई क्लबमा आबद्ध गराउँदै सदस्यता विस्तार अभियानको शुभारम्भ समेत गरेका थिए।

    क्लबमा आबद्ध भएका नयाँ सदस्यहरूमा अनिश गौतम, रोहित शाक्य, सञ्चित भट्टराई, गणेश शर्मा, सचिन कार्की, कमल थापा, राजन नेपाल, पंकज दुबे र शिशिर भट्टराई रहेका छन्।

    सन् २०२६/२७ कार्यकालका अध्यक्ष सुरज भट्टराई रहनेछन् भने राजु बस्नेत प्रथम उपाध्यक्ष, अनिल कुमार गुप्ता द्वितीय उपाध्यक्ष, प्रियबन्धु न्यौपाने तृतीय उपाध्यक्ष, समीर बस्नेत सचिव र मनोज कुमार शर्मा कोषाध्यक्ष चयन भएका छन्। साथै अन्य विभिन्न विभागीय संयोजक तथा निर्देशकहरूको समेत चयन गरिएको क्लबले जनाएको छ।

    कार्यक्रमको सञ्चालन समीर बस्नेतले गरेका थिए भने नबिल बैंक लिमिटेड प्रदेश–५ का प्रमुख अमित केसी र मञ्जु खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। समारोहमा लायन्सका विभिन्न तहका पदाधिकारी, क्लबका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंकिङ क्षेत्रका व्यक्तित्व तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.