logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राऊ


    २६ असार २०८३ , शुक्रबार

    रुपन्देहीमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राऊ

    लुम्बिनीखबर 

    भैरहवा, २६ असार । रुपन्देही प्रहरीले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको विशेष लागुऔषध नियन्त्रण अभियानका क्रममा प्रहरीमाथि आक्रमणको प्रयास गर्ने एक भारतीय नागरिकलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश निवासी अक्कवाल खान रहेका छन्।

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोली शुक्रबार साँझ मायादेवी गाउँपालिका–५ स्थित गुरुवानी चोक पुगेको थियो। लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा खानलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि परिस्थितिलाई नियन्त्रणमा लिन आत्मरक्षास्वरूप गोली चलाइएको प्रहरीको भनाइ छ।

    प्रहरीले चलाएको गोली खानको बायाँ खुट्टामा लागेपछि उनी घटनास्थलमै नियन्त्रणमा परेका थिए। त्यसपछि गरिएको खानतलासीका क्रममा प्रहरीले करिब २०० ग्राम ब्राउन सुगर, एक थान पेस्तोल, पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गोली तथा एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो।

    घाइते खानलाई आवश्यक उपचारको व्यवस्था गरी थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। घटनाका सम्बन्धमा लागुऔषध कारोबार, अवैध हतियार राखेको, प्रहरीमाथि आक्रमणको प्रयास तथा अन्य सम्बन्धित कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाल–भारत खुला सीमालाई प्रयोग गरी हुने लागुऔषध ओसारपसार, अवैध हतियारको कारोबार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रण गर्न सूचना–आधारित विशेष अभियान सञ्चालन भइरहेको छ। सोही अभियानअन्तर्गत प्राप्त गोप्य सूचनाका आधारमा उक्त कारबाही गरिएको हो।

    रुपन्देही भारतसँग खुला सीमा जोडिएको संवेदनशील जिल्ला भएकाले लागुऔषध, हतियार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको जनाएको छ। अपराध नियन्त्रण र शान्ति–सुरक्षा सुदृढीकरणका लागि यस्ता सूचना–आधारित कारबाहीलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.