सुशासन, विकास, सामाजिक रूपान्तरण र जनसहभागितामार्फत उत्कृष्ट कार्यसम्पादनतर्फ अग्रसर रोहिणी गाउँपालिका
कमल रायमाझी
भैरहवा, २९अुसार । रुपन्देहीको रोहिणी गाउँपालिकाले विकास निर्माण, सुशासन, सामाजिक सेवा प्रवाह र जनसहभागितामूलक योजनाको प्रभावकारी कार्यान्वयनमार्फत आफूलाई जिल्लाकै उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहका रूपमा स्थापित गरेको छ। आर्थिक वर्षभर सञ्चालन गरिएका विकास कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सामाजिक क्षेत्रमा हासिल भएका उपलब्धिका आधारमा गाउँपालिका नमुना स्थानीय तह बन्ने दिशामा अघि बढिरहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको सूचना शाखाका अनुसार योजना छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकको सक्रिय सहभागितालाई प्राथमिकता दिइएको छ। आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरी योजनाहरू समयमै सम्पन्न गरिएकाले विकासका प्रतिफल नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न थालेका छन्।
गाउँपालिकाभित्र सडक, नाली, पुल, खानेपानी, विद्यालय भवन, स्वास्थ्य संस्था, सामुदायिक पूर्वाधार लगायतका भौतिक संरचनाको निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकताका साथ अघि बढाइएको छ। निर्माण भएका पूर्वाधारको गुणस्तर कायम गर्न नियमित अनुगमन, प्राविधिक परीक्षण तथा पारदर्शी कार्यप्रणाली अपनाइएकाले अधिकांश योजना प्रभावकारी रूपमा सम्पन्न भएका छन्।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले स्थानीय सरकारको मूल उद्देश्य नागरिकको आवश्यकता पूरा गर्नु रहेको बताउँदै विकासलाई जनमुखी बनाइएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “हामीले जनताका वास्तविक आवश्यकता पहिचान गरेर त्यसैअनुसार बजेट विनियोजन गरेका छौँ। प्रत्येक योजनामा जनसहभागिता सुनिश्चित गरेका छौँ। त्यसकै परिणामस्वरूप रोहिणी गाउँपालिका आज नमुना गाउँपालिका बन्ने दिशामा अघि बढिरहेको छ। विकास भनेको केवल संरचना निर्माण मात्र होइन, नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु पनि हो।”
उहाँका अनुसार गाउँपालिकाले विकासका सबै क्षेत्रमा सन्तुलित लगानी गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाएको छ। नागरिकको सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने अभ्यासलाई पनि निरन्तरता दिइएको छ।
रोहिणी गाउँपालिका ऐतिहासिक तथा धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। महामानव गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक सभ्यता र शान्तिको सन्देशसँग जोडिएको भूगोलसमेत गाउँपालिकाभित्र पर्ने भएकाले यसको पर्यटन सम्भावना उल्लेखनीय रहेको पालिकाको भनाइ छ। यही सम्भावनालाई उपयोग गर्दै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका कार्यक्रम अघि बढाइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीलाई गाउँपालिकाको विकासको प्रमुख आधारका रूपमा अघि बढाइएको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीले कृषि उत्पादन वृद्धि, गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी शैक्षिक वातावरण, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर योजना कार्यान्वयन गरिरहेका छौँ। स्थानीय स्रोत, साधन र सम्भावनालाई अधिकतम उपयोग गर्दै दिगो विकासको लक्ष्य हासिल गर्ने हाम्रो प्रयास छ।”
गाउँपालिकाले कृषिलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउन किसानलाई विभिन्न तालिम, प्राविधिक सहयोग, उन्नत बीउबिजन, कृषि उपकरण तथा प्रविधिमा पहुँच विस्तार गरेको जनाएको छ। कृषिमार्फत आयआर्जन वृद्धि गर्ने उद्देश्यले समूह तथा सहकारीमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम, खोप अभियान, पोषण सुधार, स्वास्थ्य सचेतना तथा नियमित स्वास्थ्य शिविर सञ्चालन गरिएका छन्। गाउँपालिकाले स्वास्थ्य संस्थाको सेवा विस्तारसँगै आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा पनि प्राथमिकता दिएको जनाएको छ।
शिक्षा क्षेत्रमा विद्यालयको भौतिक सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास, विद्यार्थीमैत्री वातावरण निर्माण तथा अतिरिक्त शैक्षिक गतिविधिमा विशेष ध्यान दिइएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्न विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ। तालिम प्राप्त स्थानीयलाई व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गर्दै सीपलाई आयआर्जनसँग जोड्ने प्रयास गरिएको छ। यसबाट धेरै स्थानीय युवाले रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गर्न सफल भएको गाउँपालिकाको दाबी छ।
सामाजिक क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदाय लक्षित कार्यक्रम सञ्चालन गरिएका छन्। सामाजिक समावेशीकरण, लैङ्गिक समानता, बालअधिकार, स्वास्थ्य तथा शिक्षा सम्बन्धी सचेतनामूलक अभियानलाई वडा तहसम्म विस्तार गरिएको छ।
गाउँपालिकाले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रमहरू टोल र समुदायसम्म पुगेकाले सामाजिक परिवर्तनमा सकारात्मक प्रभाव परेको जनाएको छ। सरसफाइ, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सद्भाव, घरेलु हिंसा न्यूनीकरण, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा बालविवाह अन्त्य सम्बन्धी अभियानलाई निरन्तरता दिइएको छ।
आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई विशेष प्राथमिकता दिँदै बजेट व्यवस्थापनलाई प्रभावकारी बनाइएको गाउँपालिकाको भनाइ छ। योजना कार्यान्वयनमा आवश्यकताका आधारमा मात्रै बजेट खर्च गर्ने नीति अवलम्बन गरिएको छ।
गाउँपालिकाका लेखा अधिकृत मनीष पाण्डेले उपलब्धिमूलक क्षेत्रमा मात्रै लगानी केन्द्रित गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीले बजेटलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी ढङ्गले कार्यान्वयन गरेका छौँ। आवश्यकताअनुसार मात्र लगानी गरिएको छ। प्रत्येक योजनाको वित्तीय अनुशासन कायम गर्दै सार्वजनिक स्रोतको सदुपयोगमा विशेष ध्यान दिएका छौँ।”
गाउँपालिकाले नियमित सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक लेखापरीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउँदै सुशासनलाई संस्थागत गरेको जनाएको छ। सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज बनाउने प्रयाससमेत भइरहेको छ।
स्थानीयवासीको सहभागितामा सञ्चालन भएका विकास योजनाले गाउँपालिकाप्रति नागरिकको विश्वास बढाएको छ। विकास निर्माणसँगै सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण र सुशासनलाई समान प्राथमिकतामा राखेर अघि बढिरहेको रोहिणी गाउँपालिका आगामी दिनमा पनि नागरिकमैत्री, पारदर्शी र उत्तरदायी स्थानीय सरकारका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ।
समग्रमा, विकास निर्माण, सामाजिक उत्तरदायित्व, आर्थिक अनुशासन, सेवा प्रवाह, जनसहभागिता तथा सुशासनका क्षेत्रमा हासिल भएका उपलब्धिले रोहिणी गाउँपालिकालाई “नमुना गाउँपालिकाको मार्गमा रोहिणी” भन्ने परिचयलाई सार्थक बनाउँदै लगेको देखिन्छ।