लुम्बिनीखबर
भैरहवा, ३१ असार । रुपन्देहीका एक व्यवसायीलाई बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
सीआईबीले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी ४८ वर्षीय शशिधर शर्मा रहेका छन्। उहाँ एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष हुनुहुन्छ।
सीआईबीका अनुसार नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो । प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट रु। ४८ करोड कर्जा लिएको थियो ।
अनुसन्धानका क्रममा बैंकको नाममा धितो सुरक्षित नगरी तथा कर्जा सम्झौताविपरीत उक्त रकम कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरी कर्जा दुरुपयोग गरेको आरोप लागेको सीआईबीले जनाएको छ।
उक्त कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम कर्जा दुरुपयोगसम्बन्धी कसुर भएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रका आधारमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि सीआईबीले सोमबार काठमाडौं महानगरपालिका–१, पिङ्गलास्थानबाट शर्मालाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका शर्मामाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतका अनुसार घटनासँग सम्बन्धित आर्थिक कारोबार तथा सम्पत्तिको स्रोतबारे समेत अनुसन्धान जारी रहेको छ।